जनप्रतिनिधिका नेतृत्वले जनताको मर्म र भावनालाई कुल्चेको संयोजक भट्टराईको आरोप

काठाडौं, १ फागुन । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेका नेतृत्वको सरकारले भावना र मर्म अनुसार काम नगरेको आरोप लगाउनु भएको छ ।

आफ्नो गृह जिल्ला गोरखाको पालुङटारमा आज स्थानीय जनप्रतिनिधिसँगको छलफलमा डा. भट्टराईले जनताले मत दिएर जिताएका जनप्रतिनिधिले जनताको मर्म र भावनालाई कुल्चन नहुने बताउँदै उहाँले अहिलेको जनप्रतिनिधिले जनताको भावना बुझ्न नसके देशको समृद्धि हुन नसक्ने बताउनुभयो ।

पूर्वपश्चिम जागरण अभियानका क्रममा गोरखा पुगेका भट्टराईले नेपाली जनताको चाहना विकास र समृद्धि भएकाले सबैले इमान्दारिता साथ आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । “सुशासन र विकास निर्माणका लागि सबै प्रतिबद्ध भए देशको विकास गर्न गाह्रो छैन,” डा भट्टराईले भन्नुभयो, “यहाँ सबैमा इमन्दारिताको खाँचो छ ।”

नेपाली जनताको त्याग र बलिदानबाट नेपालमा गणतन्त्र आएकाले शहीदले देखाएको बाटो भुल्न नहुने उहाँको भनाइ थियो । तत्कालीन नेकपा माओवादीले शुरु गरेको १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट अहिलेको परिवर्तन सम्भव रहेको डा भट्टराईले बताउनुभयो । जनयुद्धको राजनीतिक नेतृत्व गर्ने अवसर पाएकामा आफूलाई गर्व लागेको र त्यही आन्दोलनका कारण नेपालमा राजतन्त्रको अन्त्य सम्भव भएको उहाँले बताउनुभयो । जनताको भावना र चाहना बुझ्न मध्यपहाडी लोकमार्ग जागरण अभियानमा हिँडेको डा. भट्टराईले प्रष्टपार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्