राजपाको अध्यक्ष मण्डलको बैठक बस्दै, छलफलका विषय यस्ता छन्
काठमाडौं, माघ २९ । सत्ता समर्थित राष्ट्रिय जनता पार्टी राजपाले आगामी महाधिवेशन केन्द्रीत भएर छलफल गर्न अध्यक्ष मण्डलको बैठक बोलाएको छ ।
राजधानीको बबरमहलस्थित पार्टी मूख्यालयमा दिउँसो १ बजेपछि बस्ने बैठकमा महाधिवेशन लक्षित सदस्यता वितरण र महाधिवेशनको कार्यतालिका प्रकाशन लगायतका विषयमा छलफल हुने राजपाले जनाएको छ ।
आजको बैठक विशेष गरी महाधिवेशन लक्षित विभिन्न २७ जिल्लामा वितरण भएको सदस्यता प्रमाणित गर्ने विषयमा केन्द्रीत हुने अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले जानकारी दिए ।
सबै जिल्लाबाट संकलन भएको सक्रिय सदस्यताको विषय टुङ्ग्याएपछि महाधिवेशनको कार्यतालिका प्रकाशनको विषयमा छलफल अघि बढाउने यादवको भनाई छ । आगामी महाधिवेशनका लागि राजपाले २७ जिल्लामा पाँच लाख बढी सक्रिय सयदस्यता वितरण गरेको जनाएको छ ।
गत माघ १५ गतेसम्म सदस्यता वितरण गर्ने बताएको राजपाले १५ दिन म्याद थप गरेको थियो । थपिएको समय आज सकिंदै छ । फागुन भित्र वडा तहदेखि प्रदेशसम्मको अधिवेशन गरिसक्ने राजपाको तयारी छ ।
मधेश केन्द्रित ६ वटा दल मिलेर राजपा गठन भएपछिको पहिलो महाधिवशेन आगामी बैशाख ७, ८ र ९ गते गर्ने तय भइसकेको छ । स्थान भने तय हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्