निर्वाचन क्षेत्रमा बजेट नपठाए अनशन बस्ने सांसदकाे चेतावनी

काठमाडौँ , माघ २६ ।  राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले झापाको आफ्नो निर्वाचन क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिबाटै सञ्चालनमा रहेका बहुवर्षीय योजना पनि रोक्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ती कार्यक्रमलाई तत्काल सुचारु नगरेमा र आफ्नो क्षेत्रलाई उपेक्षित गर्ने काम भए आफू अनशन बस्न पनि तयार रहेको बताए ।

‘नसच्याए साँच्चिकै अनशन बस्छु, मेरो क्षेत्रका जनतालाई न्याय दिलाउने काममा अरु संघर्षका कार्यक्रम पनि गर्नेछु’, उनले भने । सत्तारुढ दलका कार्यकर्ताको सिफारिसका आधारमा योजना छनोट हुने गरेकाले आफ्नो क्षेत्रमा योजना नपरेको उनले बताए । कुनै ठाउँमा १० लाख मागेकोमा एक करोड १० लाख रुपैयाँ दिने, कुनै ठाउँमा एक रुपैयाँ पनि नदिने गरिएको उनले आरोप लगाए । सांसद अतहर कमाल मुसलमानले पनि बहुवर्षीय विकास निर्माणका आयोजना वर्तमान सरकारले रोक्ने काम गरेको बताए । यस्तो कार्य नरोकेमा सदन अवरुद्ध गर्ने उनको भनाइ थियो ।

नेकपाका सांसद गणेशकुमार पहाडीले सडक दुर्घटना बढ्दै गएको भन्दै सडक सुरक्षालाई राज्यको प्रमुख दायित्व र चासोको रुपमा राख्नुपर्ने बताए । प्रतिवर्ष नेपालमा सडक दुर्घटनाबाट झन्डै दुई हजार ज्यान जाने गरेको भन्दै उनले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था ऐन २०४९ लाई समयानुकूल परिवर्तन गर्नुपर्ने बताए । याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्