मुख्य दलको आ आफ्नै अडानका कारण नयाँ सरकार गठनमा अन्योेलता

काठमाडौं । मुख्य तीनको दलको आ–आफ्नै अडानका कारण राजनीतिक सहमति जुट्न नसक्दा नयाँ सरकार गठन अश्चित बनेको छ । कांग्रेस, एमाले र माओवादीबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा सहमति जुट्न नसक्दा सरकार गठन अश्चित बनेको हो ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले सत्ता हस्तान्तरण अगाडि राष्ट्रपति कार्यालयमा पठाएको राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी गरी सभा गठनको बाटो खोल्नुपर्ने अडानमा छ । कांग्रेसले सत्ता लम्ब्याउन आफूअनुकूल कानुन बनाउन खोजेको भन्दै एमालेले विरोध गरेपछि सत्ता हस्तान्तरण प्रक्रिया जटिल बनेको छ ।

कांग्रेस–एमालेबीचको आरोपरप्रत्यारोपका कारण प्रदेश र प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएको अवस्थामा पनि नयाँ सरकार गठनको बाटो खुलेको छैन । सहमतिको खोजीमा लाग्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल तत्पर देखिए पनि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच संवाद हुन नसक्दा नयाँ सरकार गठनमा पनि अन्योेलता देखिएको हो ।

मन्त्रिपरिषद्ले स्वीकृतका लागि पठाएको अध्यादेश एमालेको दबाबमा राष्ट्रपतिले स्वीकृत नगरेको कांग्रेसले आरोप लगाउँदा, कांग्रेसले अनावश्यक अडान लिएर सत्तामा बसिरहँदा राजनीतिक गतिरोध देखा परेको एमालेको तर्क छ । दलबीच राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशमा राष्ट्रिय सभा गठन एकल संक्रमणीय प्रणालीमा हुने वा बहुमतीय प्रणालीमा हुने भन्ने विवादका कारण सरकार गठन अन्योलमा परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्