काठमाडौं, २३ माघ । नेपाल विद्यार्थी संघ विघटनको प्रस्तावमा नेताहरु दुईधारमा विभाजित भएको छन् ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघ के गर्ने भन्ने प्रस्ताव राखेका थिए । नेता कृष्ण सिटौलाले अधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने मत राखेका छन् तर, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल संघ विघटनको पक्षमा उभिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा उपसभापति विमलेन्द्र निधिले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव राखेका छन् ।
बुधबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले नेविसंघको कार्यसमिति विघटनको प्रस्ताव राखे । कानुनीसँगै राजनीतिक रुपमा पनि वर्तमान कार्यसमितिको औचित्य सकिएको भन्दै उनले वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउन प्रस्ताव गरे ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पनि वर्तमान कार्यसमिति विघटनको पक्षमा उभिएका छन् ।
तर, नेता कृष्ण सिटौलाले भने विरोध गरे । थुप्रै भ्रातृ संगठनको अधिवेशन नभएको तर, नेविसंघको हकमा एक दिन म्याद सकिनासाथ भंग गर्नुपर्छ भन्न नहुने बताए ।
अहिले कार्यसमितिको म्याद थप गरेर चुनावमार्फत नयाँ नेतृत्व ल्याउनुपर्ने उनले बताए ।
विधानमा नै भने अनुसार म्याद सकिएको ३ महिनासम्म मात्रै कार्यसमितिको म्याद थप गर्न मिल्नेमा केन्द्रीय समितिको बैठकले ५ महिनासम्मको लागि म्याद थपिएको थियो । यसरी ५ महिनाको लागि थपिएको म्याद समेत माघ २ गते सकिएको थियो ।
माघ २ गते सकिएको म्याद माघ १० गते बस्ने केन्द्रीय समिति बैठकको निर्णय अनुसार हुने भनिएकोमा १० गतेपछिको बैठकमा समेत नेविसंघको कार्यसमितिको समयबारे केही निर्णय हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्