काठमाडौँ, माघ २१। शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेसम्म पार्टी कमजोर बन्ने काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले बताएका छन् ।
नेपाल महिला सङ्घ सुनसरीले आयोजना गरेको नोना कोइरालाको बाह्रौँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यो नेतृत्व विस्थापित गर्न समयमै अधिवेशन हुनुपर्ने माग गरेका छन् ।
नेपाली काङ्ग्रेस इतिहासमै सबैभन्दा कमजोर बनेको भन्दै त्यसको सबैभन्दा उत्तम विकल्प नेतृत्व परिवर्तन रहेको उनले बताए ।
‘हिजो काङ्ग्रेस नेतृत्वले उम्मेदवारको टिकट वितरणमा न्याय गर्न नसक्दा काङ्ग्रेसको यो हालत भएको हो,’ उनले भने, ‘टिकट राम्रो मान्छेले पाएको स्थानमा पनि अन्तर्घातले नराम्ररी गाँज्यो ।’
पार्टी गुट उपगुटले मात्रै होइन गिरोहले चलाउँदै गएको उनले बताए । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको कार्यकाल सकिन लागेको भन्दै उनले यो नेतृत्वको दिनगन्ती शुरु भएको बताए । बहुमत छ भनेर कार्यकाल लम्ब्याएर टिक्ने दुस्साहस नगर्न पनि उनले चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्