सरकार प्रायः सबैक्षेत्रमा असफल : कमल थापा

काठमाडौं ,माघ २०। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकाधबाहेक सबैजसो क्षेत्रमा सरकार असफल भएको दावी गरेका छन् ।
आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उनले सरकार संसदीय अंकणितमा बलियो देखिए पनि कार्यक्षमतामा कमजोर रहेको बताएका हुन् ।
‘संसदीय अंकगणितमा बलियो देखिएता पनि यो सरकारले आमजनतालाई परिवर्तनको अनुभूति दिन सकेको छैन’ उनले भनेका छन् ‘एकाध अपवादलाई छोडने हो भने सरकार प्रायः सबैक्षेत्रमा असफल प्रमाणित भएको छ ।’
यो सरकार पूर्ववर्ती सरकारहरुकै असफलता र अकर्मण्यताको पदचिह्नमा हिँडिरहेको उल्लेख गर्दै थापाले एक दशकयताको असफलता अहिले झन् व्यापक र तीब्र भएको जिकिर गरे ।
थापाले सरकार देश टुक्र्याउने शक्तिका अगाडि लाचार देखिएको पनि आरोप लगाएका छन् । ‘केही समय अघि तराईका केही जिल्लाहरुमा ‘मधेस नेपाल होइन, मधेस स्वतन्त्र राष्ट्र हो’ भन्ने व्यानर र प्लेकार्ड सहित प्रदर्शन हुँदा राज्यसंयन्त्र मौन दर्शक बन्नुले अनेक आशंका र चिन्ता जन्माएको छ । राष्ट्रबादको चर्को नारा दिएर सत्तारोहण भएको वर्तमान सरकार बिखण्डनकारीको अगाडि किन लाचार बन्यो रहस्यमय छ’ उनले भनेका छन् ।
थापाले ईसाई धर्मप्रचारक संस्थाको कार्यक्रममा सहभागी हुनु र १३ करोड आर्थिक सहयोग गर्नुले सरकारले नै धर्मपरिवर्तन र यसमा सक्रिय गिरोहलाई प्रोत्साहन गरेको पुष्टि हुने दावी गरेका छन् ।
अपरिपक्व र असन्तुलित परराष्ट्र नीतिका कारण देश बाह्य शक्तिको राजनीतिक प्रतिस्पर्धास्थल बन्न थालेको पनि थापाले जिकिर गरे । ‘नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुने प्रारम्भिक संकेतहरु देखिएका छन् ।
अपरिपक्व र असन्तुलित परराष्ट्र नीतिको सञ्चालनले थप जटिलता सिर्जना गरिरहेको छ । भेनेजुयलाको घटनाक्रमबारे नेपालको बक्तव्य प्रकरण यसको पछिल्लो उदाहरण हो’ थापाले भनेका छन् ।
वाइडबडी खरिद, एनसेलको करछली, ३३ किलो सुन काण्ड, बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने लगायतका घटनाले देशमा लुटतन्त्र चलेको प्रमाणित भएको भन्दै उनले गैरकानूनी सम्पत्ति आर्जन र अर्बौ घोटालाका घटनामा राजनीतिक संरक्षण रहेको आरोप लगाए ।
कालोधनलाई विदेशमा वैध बनाएर नेपालमै ल्याउने प्रचलनको हालै खुलासा भएको भन्दै थापाले राजनीतिक संरक्षण विना यस्ता गतिविधि हुन नसक्ने जिकिर गरे । ‘भ्रष्टाचार काण्डहरुबारे गम्भीर र इमान्दार छानबिन भएकै छैन, केही छानबिन भएका काण्डहरुलाई पनि गुपचुप पार्ने प्रयास जिम्मेवार तहबाट नै भइरहेको छ’ थापाले भनेका छन् ‘यस्ता अर्बौ रुपैयाँको घोटाला राजनीतिक तहको संरक्षणबिना हुनै सक्दैन ।’
राज्यका अंगहरु पार्टीकरण भइरहेको भन्दै थापाले अहिले राज्यसंयन्त्रकै प्रभावकारिता र कार्यक्षमतामा व्यापक ह्रास आएको दावी गरेका छन् । ‘स्वयं न्यायपालिका, सुरक्षा निकाय र संबैधानिक अंगहरु समेत यस प्रवृत्तिबाट अछुतो छैनन्’ उनले भनेका छन् ।
थापाले विखण्डनकारी शक्तिबाट निकट भविष्यमा नै राजनीतिक अस्थिरता र अराजकताको अर्को श्रृङ्खला शुरु हुने संकेत देखिएको जिकिरसमेत गरेका छन् ।
‘बिखण्डनकारी शक्ति अहिले आफ्नो प्रभाव र संगठन बिस्तारमा लागेको छ । यस समुहले उपयुक्त समय हेरेर तराईका विभिन्न जिल्लाहरुमा अराजकता खडा गर्न सक्दछ ।’
विप्लव नेतृत्वको माओवादीले विभिन्न जिल्लाहरुमा गतिविधि तिव्र पारिरहेको भन्दै यसले शक्ति सञ्चय गरेर ठूलै वितण्डा मच्चाउने तयारी गरेको पनि थापाले बताएका छन् ।
राप्रपाले देशका सबै स्थानीय तहका वडासम्म पार्टी इकाइ पुनर्गठनलाई निरन्तरता दिने र आगामी चुनावअघि नै ५ लाख सक्रिय सदस्य बनाउने थापाले योजना सुनाएका छन् ।
त्यस्तै पार्टीले हाल सञ्चालन गरेको हिन्दुराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियानलाई निरन्तरता दिने र मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा दुई चरणमा गरी देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्