निजी क्षेत्रको सहकार्य बिना सवृद्धि असंभव, ढुक्क भएर लगानी गर्नुस् : अध्यक्ष दाहाल

काठमाडौं, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना समृद्धि असंभव बताएका छन् ।

सातौँ वालिङ महोत्सवको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रलाई सहजरुपमा लगानी गर्ने वातावरण बनाउन सक्नु आवश्यक रहको बताउँदै सहकार्य बिना सवृद्धि असंभव भएको कुरा बताएका हुन् । उनले निजी क्षेत्रको भावना बुझ्न सरकार अग्रसर छ । त्यो वातावरण बनाउन सरकार प्रतिवद्ध रहेका बताउँदै उनले व्यवसायीलाई ढुक्क भई लगानी गर्ने आग्रह गरे ।

नेकपा अध्यक्ष दाहालले भने, “देशभित्रै व्यवसायीहरु सुरक्षित भएनन् भने विदेशी लगानीकर्ताहरु लगानीका लागि नेपालमा आउँदैनन् ।” नेपालका लगानीकर्तालाई विदेशमा नभई स्वदेशमै लगानी गर्न आग्रह गर्दै उनले जटिल ऐननियमलाई सहज बनाउने, लगानीको सुरक्षाका लागि प्रत्याभूति दिलाउने र अन्य विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता भएको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल सरकार विकास निर्माणका लागि प्रतिबद्ध रहेको बताउँदै सरकारले ठूलादेखि साना काम गर्नेमा विचलित नभएको उल्लेख गर्नुभयो । वालिङ महोत्सवले वालिङ तथा समग्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई बाटो बिराउने छुट नभएको दावी गर्दै देश बनाउने जिम्मा सरकारको मात्रै नभई प्रतिपक्षीको पनि भएको उल्लेख गर्दै अब देशलाई अलमलमा मात्रै नराखेर नवीन सङ्कल्पसहित अगाडि बढ्नुपर्ने बताए ।

वालिङ उद्योग वाणिज्य सङ्घ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा आजबाट शुरु भएको सातौँ वालिङ महोत्सव माघ २८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्