राणा र लोहनी नेतृत्वको राप्रपा एकताको आधारपत्रमा हस्ताक्षर, शुक्रबार नै पार्टी एकता

काठमाडौं, १७ माघ । कमल थापा नेतृत्वको राप्रपा नेपालको सहित तीन राप्रपा एकता भाँडिएपश्चात पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी दुईपार्टीबीच एकता सम्बन्धी आधारपत्रमा हस्ताक्षर भएको छ ।

राप्रपा प्रजातान्त्रिकको पार्टी कार्यालय चावहिलमा बिहीबार दिउँसो राणा र लोहनीले पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई पार्टीबीच एकता भएपछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहनेछ भने पार्टीको चुनाव चिन्ह हलो हुने सहमती तए भएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र उदारवाद एकीकृत पार्टीको वैचारिक आधार हुनेछ । पार्टीको मुख्य नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुने सहमती भएको छ । राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पनि पार्टीको नीति र सिद्धान्त हुने दुईपाटीृबीच भद्र सहमती भएको छ ।

यस्तै पार्टीको एकताको महाधिवेशन नहुुँदासम्म राणा र लोहनी दुबै पार्टीका अध्यक्ष हुनेछन् भने दुबै अध्यक्षको हैसियत पनि समान हुनेछ । पार्टीका महत्वपूर्ण निर्णय गर्दा सहमतिको आधारमा हुने पनि एकतासम्बन्धि आधारपत्रमा उल्लेख गरिएको छ । ।

दुई पार्टीबीच शुक्रबार नै औपचारिक रुपमा पार्टी एकता घोषणा हुँदैछ ।
तीन नै राप्रपाबीच एकताको हरप्रयास भएता पनि सहमती जुट्न नसकेको कमल थापा नेतृत्वलाई छाडेर यो एकता भएको हो ।

प्रतिक्रिया दिनुहोस्