स्ववियु निर्वाचन नगराउन कांग्रेसको आग्रहः ‘सरकारको कार्यशैली ठिक भएन’

काठमाडौं,माघ १५ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको विरोधमा आफ्नो पार्टी आन्दोलनमा रहेकाले फागुनमा निर्धारित स्ववियु निर्वाचन नगराउन प्रधानमन्त्री केपी ओली र त्रिभुवन विश्वविद्यालयका अधिकारीलाई आग्रह गरेका छन् ।
त्रिवि पदाधिकारीले स्ववियु चुनावका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी देउवा, विद्यार्थी संगठनका प्रमुखसित छलफल गरेका थिए ।
छलफलमा देउवाले आफ्नो पार्टी लोकतन्त्र र चुनावविरोधी नभए पनि सरकारको कार्यशैलीको विरोधमा आन्दोलनमा रहेकाले तत्काल निर्वाचन नगराउन आग्रह गरेको जानकारी स्रोतले दियो ।
छलफलपछि त्रिवि पदाधिकारीले भने निर्धारित मितिमै निर्वाचन हुने बताएका छन् । त्रिविले फागुन १४ गतेभित्र स्ववियु निर्वाचन गर्न सबै क्याम्पसमा परिपत्र गरिसकेको छ ।
त्रिविकी रेक्टर सुधा त्रिपाठीले विश्वविद्यालयका तर्फबाट स्ववियु निर्वाचनसम्बन्धी प्रस्ताव र प्रगति विवरण पेस गरेपछि आएको प्रतिक्रियाप्रति सहमति जनाउन नसकेको बताइन् ।
विश्वविद्यालयले पूर्वनिर्धारित क्यालेन्डरअनुसार ६ महिनादेखि स्ववियु चुनावको तयारी गरेको छ,’ उनले भनिन्, ‘हामीले फागुन १४ देखि बढीमा एक साता लम्ब्याउन सक्छौं । नत्र अर्को साल मात्र हुनेछ भनेका छौं ।’ कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्