डा. मनोजकुमार केसी बने नयाँ आईजीपी, गृहमन्त्री गुरुङले गरे दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले डा. केसीलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त आईजीपी डा. केसीलाई बुधबार गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहका बिच गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह (फुली) प्रदान गरेका छन्।
सरकारले निवर्तमान आईजीपी दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको नयाँ जिम्मेवारी सुम्पेको छ।
फुली लगाइदिने परम्परामा फेरि बदलाव
आईजीपीलाई दर्ज्यानी चिन्ह लगाइदिने परम्परामा यो दोस्रोपटक गृहमन्त्रीको प्रत्यक्ष सहभागिता हो।
नेपाल प्रहरीको सुरुवाती इतिहासमा अवकाश लिन लागेका आईजीपीले नै नवनियुक्त आईजीपीलाई फुली लगाइदिने चलन थियो। तर, तत्कालीन गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई पहिलोपटक गृहमन्त्रीको हैसियतमा फुली लगाइदिएपछि सो परम्परा तोडिएको थियो। त्यसयता गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आएकामा अहिले गृहमन्त्री सुधन गुरुङले पुनः सो अभ्यासलाई निरन्तरता दिएका छन्।
यसअघि गृहमन्त्रीको पदभार सम्हालेको तीन दिनपछि प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा मन्त्री गुरुङले आगामी दिनमा नवनियुक्त आईजीपीलाई प्रधानमन्त्री स्वयम्ले दर्ज्यानी चिन्ह लगाइदिने कानुनी तथा व्यवहारिक व्यवस्थाका लागि पहल गर्ने घोषणा गरेका थिए।






















प्रतिक्रिया दिनुहोस्