उपत्यकाका अधिकांश सडकको अवस्था दयनीय, सकिनुपर्ने समयमा २० प्रतिशत मात्रै कार्यप्रगति

काठमाडौं,माघ १३ । सरकारले पानीजहाज र रेल सञ्चालनको कार्ययोजना अघि सारिरहे पनि राजधानी तथा आसपासका अधिकांश सडकको अवस्था भने दयनीय छ ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिका, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, मेलम्ची खानेपानी आयोजनालगायतका सरकारी निकायको गैरजिम्मेवारीपनका कारण उपत्यकावासी हैरान छन् ।
पानी पर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे हुने मुख्य विशेषता बोकेका राजधानीका सडकमा यात्रा गर्दा जोखिम मोल्नुपर्ने अवस्था छ । रिङरोडभित्र कम समस्या भए पनि रिङरोड आसपासका राजधानीका अधिकांश सडकमा हिँड्दा जोखिम मोल्नुपर्ने अवस्था छ ।
रिङरोडबाहिरका अधिकांश सडकमा कलंकी, सीतापाइला, स्वयम्भू, बालाजु, महाराजगन्ज, चाबहिल, सातदोबाटोलगायतका क्षेत्रबाट चक्रपथ भेट्न आइपुग्ने सडक क्षतिग्रस्त बन्न पुगेका कारण सर्वसाधारण सास्ती खेप्न बाध्य भएका हुन् ।
चक्रपथबाहिरका अधिकांश सडक समयमै निर्माण सम्पन्न हुन नसक्दा तथा मर्मतसम्भार अभावलगायतका कारण अवस्था दयनीय बन्न पुगेको हो ।
रिङरोडभित्रका सडकमा मेलम्ची खानेपानी आयोजनाका कारण सडकका दायाँबायाँ तथा सडकका बीच भागमा खनिएका सडकका विभिन्न स्थानमा पानी जम्ने तथा हिलोले झनै खाल्डाखुल्डी बन्दा दुईपांग्रे सवारी र पैदलयात्रु मर्कामा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अनुगमन प्रतिवेदनले समेत काठमाडौँका सडकमा गम्भीर समस्या रहेको औंल्याएको छ ।
काठमाडौँ महानगर मातहत र सडक विभाग मातहतका सडकका बारेमा गरिएको अनुगमनमा निर्माण सम्पन्न भइसक्नुपर्ने समयमा २० प्रतिशत मात्र भौतिक प्रगति भएकाले निर्माण कार्य कमजोर र दयनीय भएको निष्कर्षसमेत निकालिएको छ ।
प्रतिवेदनमा त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकको झन्डै १३ किलोमिटर सडक ३० पुससम्ममा सक्नुपर्ने समयावधि रहेकामा सडकका ४ खण्डमा काम गरिरहेका विभिन्न निर्माण कम्पनीहरुले ५० देखि ७० प्रतिशत मात्र भौतिक प्रगति गरेको देखिएको छ ।
चाबहिल–जोरपाटी–साँखु सडकको १३ किलोमिटर सडकमा ६ खण्डमा निर्माण कम्पनीहरूले काम गरिरहेकामा फागुनसम्म सम्पन्न गरिसक्नुपर्ने सडकमा २० देखि ७२ प्रतिशत मात्र काम सम्पन्न भएकोे छ ।
यस सडकको एक ३ दशमलव ६ किलोमिटर सडकमा युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न गरेको पाइएको हो । जुन यस अनुगमनको सबैभन्दा कम भौतिक प्रगति हो ।
प्रतिक्रिया दिनुहोस्