नागरिकको जीवनस्तरमा सुधार र खुशी आजको आवश्यकता: राष्ट्रपति पौडेल
काठमाडौं, २० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन् ।
ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको मुहारमा खुशी ल्याउन सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष रहेको जिकिर गरे ।
नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई सोहीअनुसार रुपान्तरण गर्दै लैजान जरुरी रहेको पनि बताए ।
‘लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने संस्कार र शैली हो । यो लोकहितमा समर्पित हुने असल आचरण र चरित्र पनि हो,’ उनले भने, ‘यो मर्म र भावना बुझेर अघि बढ्ने नेतृत्व र जनप्रतिनिधिको दृढ इच्छाले मात्र भौतिक विकाससँगै नागरिकको मुहारमा खुशी ल्याउन र व्यवस्थाप्रति भरोसा जागृत गराउन सक्छ ।’
संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान उल्लेख गरे ।
राष्ट्रपति पौडेलले स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्ने पनि बताए ।
नागरिकका चाहना पूरा गर्न विशेषतस् स्थानीय सरकारले ध्यान दिनुपर्ने पनि बताए ।
लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने संस्कार र शैली भएको पनि उनले बताए ।
‘पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता हो । यसका लागि सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष हो भन्ने म ठान्दछु । नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रुपान्तण गर्दै लैजानु आजको हाम्रो साझा दायित्व हो भन्ने म ठान्दछु,’ राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपति पौडेलले जनताका गुनासा, असन्तुष्टि, माग सुन्ने र तीनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण र शैली पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।















प्रतिक्रिया दिनुहोस्