टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने
काठमाडौं, २० मंसिर । काठमाडौंको मध्य भागबाट बग्ने टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ ।
काठमाडौंको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभानमा २.५३ हेक्टरमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । एसियाली विकास बैंक (एडिबी.को बागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत तीन अर्ब १८ करोड छ । केन्द्रको निर्माण आगामी मङ्सिरमा पूरा गर्ने लक्ष्य छ ।
टुकुचाको प्रवाहलाई उक्त केन्द्रमा पथान्तरण गरी पानी प्रशोधन भएपछि बागमतीमा प्रवाहित गरिने छ । प्रशोधन केन्द्रका सह उत्पादनको रूपमा ८०० किलोवाट विद्युत् पनि त उत्पादन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ ।
हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेका छ भने स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण हुन सकेको छैन । ललितपुरमा विद्युत् उत्पादन हुने संरचना मात्र रहनेछन् । मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरमा निर्माणाधीन छन् ।
मन्त्री घिसिङले आज निर्माणाधीन प्रशोधन केन्द्रको निरीक्षण गरी निर्माण प्रगतिबारे जानकारी लिए । त्यस क्रममा उनले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परार्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, व्यहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गरेका थिए ।
उनले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गरे । निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएकाछन
।















प्रतिक्रिया दिनुहोस्