हिउँले कठ्यांग्रियो सुदूरपश्चिम : हिँडडुलमा समस्या, गाडी चल्न सकेनन्, कोल्टी क्षेत्र सञ्चारविहीन

काठमाडौं, माघ १२। निरन्तरको वर्षा र हिमपातका कारण बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ।
केही दिनदेखि भइरहेको मौसम बदलीसँगै निरन्तरको वर्षा र हिमपातका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको हो।
हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ। बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखेलेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो।
मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ।
चार-पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समस्या भएको छक्क मल्लले बताए। मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधान रोकिएका छन्। सडक बाटो पूर्णरूपमा बन्द भएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए।
हिमपातका कारण ग्रामीण भेगका कच्ची सडक हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन्।
सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जिप सञ्चालन हुन नसकेको प्रमुख भाटले जानकारी दिए।
कोल्टी क्षेत्र सञ्चारविहीन
कोल्टी क्षेत्र पनि हिमपातका कारण सञ्चारविहीन बनेको छ।
जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तह रहेको कोल्टी क्षेत्र टेलिफोन सेवा र इन्टरनेट सेवाबाट विच्छेद बनेको प्रहरीले जनाएको छ।
कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट बञ्चित भएका हुन्। घाम लागेको दिन मात्रै मोबाइलमा टावर आउने र बादल लाग्दा सञ्चारविहीन हुने गरेको छ।
सञ्चार सुविधा नहुँदा स्थानीय तहका काम प्रभावित बनेका छन्। कुनै विपत्ति आउँदा, घटना, दुर्घटना हुँदा प्रहरी प्रशासनमा खबर गर्न पनि समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ। घाम लागेको बेला आउने भए पनि लगातार हिमपात परेपछि सेवा अनियमित बनेको हो।
उत्तरी क्षेत्रका बूढीनन्दा नगरपालिकाको कोल्टीको घोडाकोट, हिमाली गाउँपालिका–६ गुम्लु र हिमाली गाउँपालिका–२ को कोटमा दुई वर्षअघि रिपिटर टावर निर्माण भएका छन्। ती सबै टावर विद्युत् सेवा नहुँदा सोलार प्रविधिबाट जाडन गरिएका छन्।
टेलिकम बाजुरा कार्यालयका कर्मचारी मानबहादुर रोकायाले विद्युत् नियमित नहुँदा समस्या आएको बताए। चिसोले अस्तव्यस्त बनेको यहाँको जनजीवन फोन सेवासमेत नहुँदा थप सास्ती भोग्न बाध्य छ।
प्रतिक्रिया दिनुहोस्