गगन थापाको कडा जवाफ- सरकारले संसदलाई विभागीय कार्यालय जस्तो बनाउन खोज्यो

काठमाडौं, माघ १० । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसदलाई सरकारले आफ्नो विभागीय कार्यालय जसरी प्रयोग गर्न खोजेको आरोप लगाउनुभएको छ ।
काठमाण्डौमा रिपोर्टस् क्लबको कार्यक्रममा थापाले सभामुखलाई सत्तारुढ पार्टीको संसद वा मन्त्रीले आदेश दिने र त्यसै अनुरुप सभामुखले संसद चलाउन खोज्नुले संसद सरकारको कुनै विभागीय कार्यालय जस्तो बन्न खोजेको बताउनुभयो ।
सरकारले संसदको सर्वोच्चतामाथि नै प्रहार गरेको भन्दै थापाले सभामुख पनि पूर्वाग्रही ढंगले चल्न खोजेको बताउनुभयो । सत्तारुढ दलका सांसदले खुला मञ्चबाट, चोक चौताराबाट भोलि यसरी संसद चल्छ भनेर फतवा जारी गर्ने र सभामुख त्यसैगरी चल्दै जान खोज्नुले सार्वभौम संसदको सर्वोच्चातामाथि प्रश्न उठ्ने बताउनुभयो ।
‘सभा चलाउने सभामुखले हो । सभामुखले कसैको आदेश तामेली गर्ने वा अरुको आदेश मान्दै हिँड्ने हो भने संसदको सर्वोच्चतामै प्रश्न उब्जन्छ,’ थापाले भन्नुभयो ।
प्रतिपक्षीलाई देखाइदिन्छु भन्ने सोचले सभामुख पनि सत्तापक्षको लहडमा लागे शुक्रबार बस्ने संसद पनि अवरुद्ध गर्न कांग्रेस बाध्य हुने उहाँले बताउनुभयो ।शुक्रबार बस्ने बैठक अघि बढ्ने वा नबढ्ने भन्ने कुरा सभामुख र सरकारमा निर्भर रहेको पनि थापाले बताउनुभयो ।
सदन अघि बढाउने सवालमा अहिलेसम्म सभामुख र सरकारले प्रतिपक्षसँग छलफलको पहल नगरेको भन्दै उहाँले भोलिसम्म आफूहरु कुरेर बस्ने बताउनुभयो ।
बसेकै ठाउँबाट विधेयक पास गर्ने कुरा सत्तारुढ दलले गरेको भन्दै उहाँले विगतको कुरालाई ल्याउने हो भने ५८ दिनसम्म पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई संसद छिर्न नदिएको कुरा नभुल्न सचेत गराउनु भयो ।
विगतमा भएका कमीकमजोरीलाई अंगालेर अघि हिँड्ने कि राम्रा काम गर्दै अघि हिँड्ने त्यो सरकारमा निर्भर रहेको थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्