काठमाडौं ,३ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले अघिल्लो सरकारले गरेका निर्णयहरु उल्ट्याउँदै जाने हो भने केपी ओली नेतृत्वको सरकार पनि छिटै उल्टिने चेतावनी दिएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्ष पुगेका र क्यान्सर,मिर्गौला,कलेजो जस्ता असाध्य रोगका विरामीलाई मासिक पाँच हजार भत्ता दिने भनी गरेको निर्णय उल्ट्याकोप्रति आक्रोश पोख्दै प्रमुख सचेतक खाँणले अब अस्थायी राजधानीको निर्णय पनि उल्ट्याउन खोजे आफै उल्टिने दावी गरे ।
प्रदेश ५ को स्थायी राजधानी र नामाकरण तत्काल तोक्न दवाव दिने उद्देश्यले कांग्रेसले बिहीबार बुटवलमा आयोजना गरेको खबरदारी सभामा खांणले अघिल्लो सरकारले गरेका निर्णय उल्ट्याउने र कांग्रेस नेताहरुका नामका अस्पताल र प्रतिष्ठानहरु खरेज गर्ने सम्बन्धमा ओली सरकारले अपमानजनक निर्णय गरेकोले कांग्रेस अब चुप लागेर नबस्ने सरकारविरुद्ध सशक्त रुपमा अगाडि आउने बताए । ‘यो सरकारले अघिल्लो सरकारका निर्णय उल्ट्याउंदै जाने हो र कांग्रेसलाई अपमान गर्ने हो भने हामी चुप लागेर बस्दैनौं, यो सरकारलाई नै उल्ट्यादिन्छौं,’ खाँणले भने, ‘अब संसदमा हामी यी सबै विषयमा सरकारविरुद्ध सशक्त आवाज उठाउँछौं ।’
नेता खांणले हत्या हिंसाको जगबाट आएकाले कम्युनिस्ट सरकारले शान्ति सुरक्षा कायम गर्न नसक्ने दावी गर्दै वहुलवादी समाजका कम्युनिष्ट सत्ता पनि धेरै नटिक्ने तर्क गरे ।
उनले आफू रुपन्देहीको भएर रुपन्देहीलाई राजधानी बनाउनुपर्छ भनेको नभइ संसारले चिनेको बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर यसकै माध्यमबाट यो प्रदेशलाई उत्कृष्ट र नमूना बनाउनका लागि भएको बताए ।
उनले स्थायी रजधानीका विषयमा विवाद गर्नुपर्ने कारण नभएको भन्दै अलमल र ढिलासुस्ती नगर्न आग्रह गरे । सभालाई कांग्रेस केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी,देवेन्द्रराज कंडेललगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्