नेविसंघमा दोस्रो पटक थपिएको म्याद पनि सकियो, तदर्थ समिति बन्ने संभावना

काठमाडौं, माघ २ ।  नेपाल विद्यार्थी संघ नेविसंघले पटक पटक समय थप्दासमेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ ।
पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रोपटक दुई महिनाका लागि म्याद थपिएको भए पनि नेतृत्वको असफलताले सिंगो नेविसंघ नै ध्वस्त हुने स्थितिमा पुगेको
छ ।
दिइएको कार्यकाल बुधबार सकिएपछि अब माउ पार्टी नेपाली काँग्रेसले तदर्थ समिति बनाउने सम्भावना बढेको छ ।
विधानमा एक पटकमात्र तीन महिना म्याद थप्न सकिने व्यवस्था भए अनुसार सो समय दिइए पनि उक्त समयभित्र अधिवेशन गर्न नसकेपछि विधान भन्दा बाहिरबाट राजनीतिक निर्णय भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाले दुई महिना समय थपेका थिए ।
उक्त समयमा चुनाव हुनै नसक्ने भन्दै तत्कालीन अवस्थामै महामन्त्री कुन्दन काफ्ले समूहले अध्यक्षलाई टिका लगाउन समय थपिएको भन्दै आलोचना गरेका थिए । उनले तत्कालीन समयमा आफ्नो टिमले राजीनामा दिने भनिरहेकै अवस्थामा उनको अस्वस्थ्यताका कारणले निर्णय टरेको थियो ।

थपिएको समयभित्र १४ जिल्लामा मात्र अधिवेशन भएको थियो । अन्य जिल्ला संगसंगै क्याम्पसहरुमा अधिवेशन हुन सकेको छैन ।

तोकिएको समयभित्र १२औं महाधिवेशन नहुने निश्चित भएपछि केही समय अगाडि केन्द्रीय समितिका उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित ५२ जनाले राजीनामा दिएका छन् ।
म्याद नथपिने भएकाले बाँकी पदाधिकारी तथा सदस्यहरुको पनि कार्यकाल बुधबारदेखि स्वतः सकिएको छ ।
तदर्थवादमा चल्ने सम्भावना 
दुई पटक थपिएको समयले पनि महाधिवेशन हुन नसकेपछि अब नेविसंघ तदर्थवादमा चल्ने सम्भावना बढेको छ । संघको तदर्थ समिति गठन गर्ने वा फेरि समय थप्ने दुईवटा विकल्प मध्ये समय थपेर पनि अहिलेको कार्यसमितिले अधिवेशन गर्ने नदेखिएकाले अधिकांश नेताहरु तदर्थ समितिको पक्षमा रहेको बताइएको छ ।
धेरैले राजीनामा दिएकाले पनि अहिलेको कार्यसमिति विघटन हुने संभावना बढी रहेको नेताहरुको दावी छ ।
अहिलेको समिति विघटन भएपछि पार्टीले तदर्थ समिति गठन गर्नु पर्ने भएकाले तदर्थ समितिको नेतृत्वका लागि विद्यार्थी नेताहरुले दौडधुप थालेका छन् ।
नेविसंघमा काँग्रेस गुटको छायाँ परेकाले सभापति देउवा पक्षबाट राजिव ढुङ्गाना, सरोज थापा, ऋषिकेशजङ्ग शाह, शुभराम बस्नेतलगायतले अध्यक्षको दावी गरेका छन् भने पौडेल पक्षबाट मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठलगायतका नेताहरु मुख्य आकांक्षी रहेका छन् ।
त्यसैगरी कृष्णप्रसाद सिटौला पक्षबाट कुन्दनराज काफ्ले, युवराज पाण्डेय, बलदेव तिमिल्सिना लगायतले अध्यक्षको दावी गरेका छन् ।
नयाँ नेतृत्वले संघको महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने मुख्य दुई जिम्मेबारी पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्