काठमाडौं , पुस २२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको हुकुमी शैली नसच्चिएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको भन्दै कांग्रेसले आक्रोश व्यक्त गरेको हो । आइतबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधनमाथि प्रश्न गर्न नदिएपछि कांग्रेसले सभामुख हुकुमी शैलीमा चल्न खोजेको आरोप लगाएको हो ।
कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर विपक्षलाई प्रश्न गर्न नदिने सभामुख कृष्णबहादुर महराको एक पक्षीय व्यवहार नसच्चिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिनुभयो ।
प्रधानमन्त्री ओलीको वक्तव्य सकिएलगत्तै नेपाली कांग्रेसका सांसदहरुले प्रश्न गर्न अनुमति दिन माग गरेका थिए । तर सभामुख महराले अनुमति नदिएको भन्दै कांग्रेस सांसदहरुले रोष्ट्रम अघि उभिएर नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
सदन स्थगित भएपछि संघीय संसद भवन परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस सांसद थापाले सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले तथ्यांक नै तोडमोड हुने गरी वक्तव्य दिएको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा प्रश्न गर्न खोज्दा सभामुखले सरकारको बचाउ गरेको सांसद थापाले आरोप पनि लगाउनुभयो ।
सांसद थापाले सभामुखले कुनै एक पार्टीको पक्ष लिएर प्रश्नका लागि अनुमति दिन नसक्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाउनुभयो । उहाँले सभामुख महरालाई कुनै एक पार्टीको नभई सभामुखको भूमिकामा रहन पनि आग्रह गर्नुभयो ।
सभामुखले हुकुमी शैलीमा सदनमा प्रधानमन्त्रीको वक्तव्यमाथि प्रश्न गर्न नदिएको सांसद थापाको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्