नेकपा कार्यदलले प्रतिवेदन नबुझाउँदा पार्टी एकता अन्योलमा

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहसम्मको एकताको बाँकी काम पुस महिनाभित्र नसकिने भएको छ ।
गत मंसिर २९ गतेदेखि पुस १३ गते बसेको नेकपा स्थायि कमिटी बैठकबाट गठित कार्यदलले प्रतिवेदन बुझाउन ढिलाइ गर्दा नेकपाको एकताको बाँकी काम यो महिना नहुने भएको हो ।
नेकपाले कार्यदललाई तल्लो तहको एकता प्रक्रिया टुङ्ग्याउने विधि, प्रक्रिया र मापदण्ड तय गर्ने कार्यदेश दिएको छ ।
यही पुस मसान्तभित्र पार्टी एकताको काम सक्ने गरी खाका बनाउन ९ सदस्यीय कार्यदल बनाएको थियो ।
त्यस्तै पुस र माघ भित्र एकताको सबै काम सकेर फागुन र चैतमा देशव्यापी अभियान सञ्चालन गर्ने कार्यदलको तयारी छ ।
सोही कार्यदेश अनुसार कार्यदलले काम गरिरहेको र अबको केही दिनमा प्रतिवेदन सचिवालयलाई बुझाउने कार्यदल सदस्य वेदुराम भुषालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्