काठमाडौँ, पुस ७ । आन्तरिक विवादका कारण राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का नेता अलमलमा परेका छन्। सरकारलाई दिएको समर्थन दसैँ, दीपावली तथा छठ पछि फिर्ता लिने चेतावनी दिएको राजपा नेपालले आन्तरिक विवादले बैठक नै बस्न सकेको छैन। यो खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।
गत ४ मंसिरमा अध्यक्ष मण्डलका संयोजकमा राजेन्द्र महतोलाई चयन गरिएको थियो । अध्यक्ष मण्डलको संयोजक रहेका महन्थ ठाकुरलाई हटाउँदै बैठकले ठाकुरको अवैधानिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।
ठाकुरलाई संयोजकबाट हटाउनु र उनको नियुक्ति खारेज गर्नुले अध्यक्ष मण्डलको बैठक नै बस्न सकेको छैन । राजपा नेपाल स्रोतले दिएको जानकारीअनुसार आन्तरिक विवाद झन्झन् बढ्दै गएकाले बैठक अनिश्चित बन्दै गएको छ।
कुटिए राजपा सचेतक साह
राजपा नेपालमा महतो र ठाकुरबीच देखिएको विवाद जिल्ला जिल्लासम्म पुगेको छ । केन्द्रको विवाद जिल्लामा प्रस्ट देखिने गरी पुगेको छ । अन्य प्रमुख राजनीतिक दलमा देखिएको गुटबन्दी राजपा नेपालमा पनि प्रस्टै देखिने गरी सुरु भएको छ।
प्रदेश–२ मा राजपा नेपालका सचेतक परमेश्वर साहलाई सोही पार्टीका एक केन्द्रीय सदस्यले कुटपिट गरेका छन् । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री एवं पार्टी महासचिव जितेन्द्र सोनलको जनकपुरधामस्थित सरकारी निवासमा राजपाका केन्द्रीय सदस्य सञ्जय चौधरीले कुटपिट गरेका हुन्।
उनीहरूबीच महतो र ठाकुरको विषयलाई लिएर विवाद सुरु भएपछि कुटपिटमा परिणत भएको थियो । चौधरी पार्टी संयोजक महतो समर्थक हुन् भने साह ठाकुर समर्थक हुन् । ठाकुर समर्थक सोनलको कार्यकक्षमै भएको कुटाकुटको विषयलाई लिएर राजपा नेपालमा हंगामा मचिएको छ ।
बैठकमा महतोको विषयमा अनावश्यक कुरा बोल्दा सचेतक साहलाई कुटेको केन्द्रीय सदस्य चौधरीले स्वीकार गरेका छन् । तर, सचेतक साहले यस सम्बन्धमा आफू केही नबोल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्