कांग्रेसको महासमिति बैठक लम्बिँदा दैनिक पाँच लाख थप खर्च

काठमाडौं पुस ६ । पार्टी विधानमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा सम्पन्न हुन सकेको छैन् । मंगलबार सकिनुपर्ने महासमिति बैठक कहिले सकिन्छ भने यकिन पनि छैन ।
कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव भने बैठक लम्बिँदा अपेक्षा गरे भन्दा बढी खर्च हुन लागेकोमा चिन्तित भएको बताउ छिन् । उनी भन्छिन्, ‘बैठक लम्बिँदा दैनिक पाँच लाख रुपैँया खर्च बढेको छ ।’
यता कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने बैठक शनिबारसम्म सक्ने लक्ष्य रहेको बताउँछन् । विधानमा मिल्न बाँकी विषय लगभग टुँगिएको उनको दाबी छ ।
प्रवक्ता शर्माले भनेकै मितिमा बैठक सकियो भने पनि करिब ५० लाख थप खर्च हुने स्थानीय व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिए । उनी भन्छन्, ‘केन्द्रीय नेताहरूले सहमति जुटाउन नसक्दा एक करोडमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा डेढ करोड खर्च लाग्ने देखिएको छ ।’
पार्टीले करिब १६ सय महासमिति सदस्यलाई खाजा, बिहानको खाना र चियाको व्यवस्था गरेको छ । दुई ठाउँमा बैठकस्थल बनाउनु पर्दा पनि थप खर्च लागेको हो ।
पार्टीले महासमिति सदस्यबाट जनही एक हजार रुपैयाँ प्रवेश शुल्क संकलन गरेको थियो । प्रवक्ता शर्माले बैठक खर्च पार्टीले नै व्यवहोर्ने र बाहिर कसैसँग चन्दा नउठाएको बताए । बुधबारदेखि बैठकस्थल रामशाहपथस्थित एउटा यगम्बर प्यालेसबाट पार्टी केन्द्रीय कार्यालयमा सरेको छ ।
प्रतिक्रिया दिनुहोस्