कांग्रेस महासमिति बैठकः आज विधान संशोधन प्रस्ताव पेश हुने

काठमाडौं, पुस २ । नेपाली कांग्रेसको महासमिति बैठकमा आज विधान संशोधन मस्यौदाको प्रस्ताव पेश हुँदैछ । सोही मस्यौदामा सहमति जुटाउन केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
केन्द्रीय समितिबाट विधान पास गराउन हिजै सहमती जुटेको नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार पार्टीमा सभापतिसहित कोषाध्यक्ष र प्रवक्ता १–१ जना तथा उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना राख्न नेताहरु सहमत भएका छन् ।
सहमतिलाई आज बस्ने केन्द्रीय समिति बैठकले अन्तिम रुप दिने भनिएको छ । यो प्रस्तावमा सहमति जुटे कांग्रेसमा पदाधिकारी संख्या ९ हुनेछ ।
तर, निर्वाचन पद्धतिबारे भने अझै पनि नेताहरुबीच फरक मत कायमै छ ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरु निर्वाचित पदाधिकारीको संख्या बढाउने पक्षमा छैनन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सबै निर्वाचित हुनुपर्ने मत राखेका छन् ।
कांग्रेसमा विधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ । केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत प्रस्ताव नगए विधान पारित गर्न चाहिने दुई तिहाई पुग्ने अवस्था छैन ।
त्यसैले नेताहरुले सुरुदेखि नै सहमतिको प्रयास गर्दै आएका छन् ।
काठमाडौंमा जारी महासमिति बैठकमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्