नेकपाको स्थायी समिति बैठक आज पनि बस्दै, दुई अध्यक्षले पेश गरेको प्रतिवेदनमा छलफल हुने

काठमाठौं , पुस २ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक सोमबार बस्दैछ ।
बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु हुने बैठकमा पार्टी अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुने नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।
गएको शनिबार बसेको बैठकमा अध्यक्षको प्रतिवेदन पेश भएको हो । नेता बामदेव गौतमले पेश गरेको पुरक प्रतिवेदनका विषयमा पनि स्थायी समिति सदस्यले धारणा राख्ने छन् ।
अध्यक्षहरु ओली र दाहालले पार्टी र सरकारको दिशा सही रहेको तर सुनियोजित रुपमा चौतर्फी प्रहार भइरहेको दाबी गरेका छन् ।
बैठकमा लामो समयसम्म पार्टी एकताको कामले पूर्णता पाउन नसको विषयमा पनि छलफल हुनेछ ।
तत्कालीन एमाले र एकीकृत माओवादीबीच जेठमा एकता भए पनि जिल्ला र स्थानीय तहमा एकताका काम अझै सकिएको छैन ।
यस्तै, पोलिटब्युरोको चयन, केन्द्रीय सदस्यको जिम्मेवारी र भातृ संगठनको एकताको काम पनि बाँँकी नै छ । धेरै काम हुँदा पार्टी गतिशील हुन नसकेको भन्दै नेकपाका नेताहरुले स्थायी समितिबाट धेरै काम हुने अपेक्षा गरिएको बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्