दशैंको लागि टिकट बुकिङ् खुल्यो, यात्रुहरुको रातिदेखि भिड ।

काठमाडौं । दशैंमा घर जानका लागि टिकट बुकिङ् खुला भएको छ । भदौ २२ गतेबाट खुल्ला हुने टिकट बुकिङ् यातायात ब्यवस्था विभाग र ब्यवसायी विचको विवादका कारण रोकिएको थियो । सर्वसाधारण मंगलबार रातिदेखि बसपार्क पुगेर लाइनमा बसेका छन् । तापनि टिकट वितरण सुरु भने बिहान ६ बजेबाट मात्र गरियो ।

यातायात व्यवसायीको मागअनुसार छतमा सामान राख्न पाउने भएपछि बुकिङ् खुला गर्न व्यवसायी तयार भएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको बैठकले आजदेखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
तरपनि सामानबाहेक यात्रुहरु, खसीबोका आदी छतमा राखेको पाइएमा कडा कारवाही गर्ने प्रहरीले जनाएको छ ।
यता यातायात व्यवसायीहरुले दशैंको मौका पारेर यात्रुहरुबाट मनपरी भाडा असुल्ने भएको कारणले यातायात व्यबस्था विभागले यात्रुहरुलाई तोकिएको भाडादर भन्दा वढी नतिर्न पनि आग्रह गरेको छ । सवारीसाधनले विभिन्न बहाना बनाई यात्रुबाट लिने तोकिएभन्दा बढी भाडादरको निगरानीका लागि विभागले अनुगमन टोली नै खटाएको जनाएको छ । सरकारले तोकेभन्दा बढी भाडा असुल्ने सवारीसाधनलाई रु। ५ हजारसम्म जरिवाना गर्ने जनाएको छ । यता ट्राफिक प्रहरी महाशाखाले पनि भाडा बढी लिने, यात्रुसँग दलाली गर्ने सवारीसाधन तथा टिकट काउण्टरको निगरानी अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्