हिमपातमा फसेका पर्यटक उद्धारमा खटियो सुरक्षा टोली

काठमाडौं,१२ कार्तिक । हिमाली जिल्लाहरुमा लगातारको हिमपातका कारण मुस्ताङ र म्याग्दीको बीच भागमा फसेका १५ जना पर्यटकको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

म्याग्दीको धौलागिरी सर्किट हुँदै मुस्ताङतर्फ आउँदै गरेका ती पर्यटकमध्ये ३ जना स्वदेशी र १२ जना विदेशी रहेको र उनीहरू हिमपातका कारण सीमानामा फसेको जानकारी ट्राभल एजेन्सीमार्फत सुरक्षा निकायलाई प्राप्त भएको हो ।

उनीहरूको उद्धारका लागि मुस्ताङको सदरमुकाम जोमसोमबाट खटिएको टोलीलाई घटनास्थल पुग्न झण्डै एक दिन पैदल हिँड्नुपर्ने बताइएको छ । हालसम्म फसेका सबै पर्यटकको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ ।

त्यसैगरि, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङले हिमपात प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । परीक्षणमा ९० महिला र ६० पुरुषको अक्सिजन लेभल, तथा ६० महिला र ४० पुरुषको रक्तचाप मापन गरिएको बताइएको छ । तीमध्ये केहीमा टाउको दुख्ने, वाकवाकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म मनाङले हिमपातका कारण अवरुद्ध भएको माथिल्लो मनाङदेखि थाङसा सम्मको करिब ८ किलोमिटर सडक खण्डको हिउँ पन्छाएर आवागमन सुचारु गरेको छ ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, उद्धार र सहयोगका सबै प्रयास समन्वयपूर्वक अघि बढाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्