दक्षिणकाली–सिस्नेरी सडकखण्ड आयो सञ्चालनमा
काठमाडौं,२० असोज । गत शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण अवरुद्ध बनेको हेटौँडा काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड पनि सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजार नजिक डोडारे खोलले सडकको केहि भाग कटान गरेपछि अवरुद्ध उक्त सडक मर्मतपछि सञ्चालनमा आएको हो ।
डोडारे खोलाले बगाएको सडक दुई दिन लगाएर मर्मत गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । यस्तै सोही सडक खण्ड अन्तर्गत दक्षिणकाली मन्दिर नजिकै गएको ठूलो पहिरो पनि पन्छाइएको प्रहरीले जनाएको छ ।
कुलेखानी सिस्नेरी दक्षिणकाली सडक सञ्चालनमा आएपछि काठमाडौँ जाने सवारी साधनलाई सो मार्ग हुँदै काठमाडौँ पठाउन थालिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । उक्त सडक खण्ड हेटौँडा र काठमाडौँलाई जोड्ने वैकल्पिक मुख्य मार्गहरूमध्ये एक हो ।
यसअघि सोमबार बिहानैबाठ हेटौँडाबाट काठमाडौं पुग्नका लागि पुर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कुलेखानी–फाखेल सडकमार्ग सञ्चालन भएका थिए । तर, कान्तिलोकपथ भने अझै अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार कान्तिलोकपथ अन्तर्गत भीमफेदी वडा नम्बर ८ वगुवा खोलानजिक खसेको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ ।
उक्त स्थानमा डोजर परिचालन गरी माटो र ढुंगा हटाउने काम भइरहेको र आज साँझसम्म सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्