कांग्रेस महासमिति बैठकको चहलपहल बढ्यो, पार्टी कार्यालयमा नाम दर्ता

काठमाडौं,२८ मंसिर । नेपाली कांग्रेस महासमिति बैठकमा भाग लिन देश विदेशमा रहेका सदस्याहरु आउनेक्रम जारी रहेको छ । जिल्लाहरुबाट काँग्रेसका नेता तथा कार्यकर्ताहरु आउने भिडले गर्दा राजधानीमा बैठकको चहलपहल शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काठमाडौं आएकाहरुलाई स्वागत र नाम दर्ताको कार्यक्रम शुक्रबार पार्टी कार्यालय सानेपामा राखिएको छ ।
महासमिति बैठकको उदघाटन भने शनिबार हुनेछ । शनिबार ११ बजे रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उदघाटन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
पुस ३ गतेसम्म चल्ने महासमिति बैठकमा मुख्य एजेण्डा पार्टीको विधान संशोधन भएकाले यसलाई चासोका साथ हेरिएको छ ।
शनिबार उदघाटन कार्यक्रम सकिए लगत्तै बन्दसत्र शुरु हुनेछ । बन्दसत्रमा विधान मस्यौदा समिति संयोजक पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी महामन्त्री डा.शशांक कोइरालाले सांगठनिक दस्तावेज, उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज, सह-महामन्त्री डा. प्रकासशरण महतले कांग्रेसको आर्थिक नीति र कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यक्रम छ ।
महासमिति सदस्यहरुलाई समूहमा विभाजन गर्ने र सबै प्रतिवेदनहरुमाथि समूहगत छलफल गराएर निष्कर्ष पेश गर्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय समितिले सर्वसम्मतिले ल्याएको कुनै प्रस्तावलाई समेत अस्वीकार गर्ने अधिकार महासमितिलाई छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमिति बैठकमा १ हजार ६ सय ६० जना सहभागी हुनेछन् । २४० निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले १ हजार २ सय जना तथा भातृ एवं शुभेच्छुक संघसंस्था र जनसम्पर्क समितिबाट ९७/९७ जना प्रतिनिधिहरु बैठकमा सहभागी हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति, २६ जना सांसद र सबै केन्द्रीय सदस्यहरुले पनि महासमिति बैठकमा भाग लिनेछन् ।
हरेक दिन अपराह्न ४ बजे पत्रकार सम्मेलन गरी महासमिति बैठकमा भएका छलफलबारे मिडिया सेन्टरमार्फत् जानकारी दिइने प्रबन्ध मिलाईएको प्रवक्ता शर्माले जानकारी दिए ।
देशभरबाट आएका महासमिति सदस्यहरुले बेलुकीको खाना र बासको व्यवस्था आफैंले मिलाउनु पर्ने छ भने विहानको खाना र खाजाको मात्र व्यवस्था पार्टीले गर्ने भएको छ । महासमिति बैठक व्यवस्थापन समिति संयोजक एवं कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाका अनुसार खर्चको वयवस्थापन गर्न पार्टीलाई कठिन हुने भएकाले बेलुकीको खाने र बस्ने व्यवस्था आफैं गर्न भनिएको हो ।
प्रतिक्रिया दिनुहोस्