काठमाडौं, मंसिर २६। प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपालाई दुइतिहाइको दम्भले सर्वसत्तावादी बनाएको अलोकतान्त्रिक पार्टीका रूपमा व्याख्या गरेको छ। २८ मंसिरदेखि हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रस्तावमा कांग्रेसले प्रमुख राजनीतिक दलबारे विभिन्न टिप्पणी गरेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।
कांग्रेसको नजरमा चार धार
कांग्रेसले राजनीतिक प्रस्तावमा नेपालमा अहिले चारवटा राजनीतिक धार रहेको टिप्पणी गरेको छ । पहिलोमा आफैँलाई राख्दै राष्ट्रियतासहित स्वतन्त्रताको सार्वभौम सिद्धान्त, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र मान्ने विचार भएको उल्लेख गरेको छ ।
दोस्रो, एकदलीय निरंकुशता र जनवादी केन्द्रीयता लागू गर्न चाहने र जनताका स्वतन्त्रतामाथि नियन्त्रण गर्न चाहने कम्युनिस्ट विचारको नेकपा, तेस्रो परम्परावादी राजावादी दक्षिणपन्थी विचार र चौथोमा जातीय अतिवाद र क्षेत्रीय अतिवादका मधेसी दल रहेको कांग्रेसको टिप्पणी छ ।
नेकपाः एकदलीय वर्चस्व स्थापित गर्ने नियत
कांग्रेसले संसद्मा दुईतिहाइसरहको शक्ति आर्जन गर्नासाथ लोकतन्त्रको आवरणमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी एकपछि अर्को गर्दै संविधानको भावना र मर्ममाथि प्रहार गरी शक्तिको दुरुपयोग गर्न लागेको भन्दै उसको लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ।
‘यो एकताको मुख्य उद्देश्य नै लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट सत्ता र राज्यमा कम्युनिस्टहरूको एकतर्फी एकदलीय वर्चस्व स्थापित गर्ने नियत स्पष्ट छ,’ उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रस्तावमा भनिएको छ, ‘निर्वाचनपछि कम्युनिस्टहरूको एउटै दल बनाउने र राज्यलाई कम्युनिस्ट पार्टीअन्तर्गत चलाउने काम तीव्र रूपमा अगाडि बढिरहेको छ।’
कम्युनिस्टहरूको लोकतान्त्रिक प्रक्रियामा सहभागिता एउटा छलछाम र धोखाधडी हो भन्न आफूहरू बाध्य भएको कांग्रेसको भनाइ छ।
राप्रपाः लोकतन्त्रविरोधी
निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गर्नुका साथै देशमा निरंकुश सत्ता कायम गरे पनि राप्रपाले संवैधानिक राजतन्त्रको मूल्य र मान्यतालाई पूर्णतः परित्याग नगरेको भन्दै लोकतन्त्र र लोकतान्त्रिक शक्तिविरुद्ध सक्रिय रहेको आरोप लगाएको छ।
मधेसी दलः क्षेत्रीय अतिवादी
मधेसकेन्द्रित दलहरू लोकतन्त्रलाई सजिलो बनाउने बाटोमा नभएको आरोप कांग्रेसले लगाएको छ। ‘उनीहरूले उठाई आएका कतिपय जातिवादी, क्षेत्रीय अतिवादी तथा घोर साम्प्रदायिक कुराहरूले राष्ट्रियता, संघीयता तथा लोकतन्त्रलाई प्राथमिकता दिइरहेका छैनन्,’ मधेसी दलबारे भनिएको छ।
नयाँ शक्ति पार्टी र विवेकशील साझाजस्ता दलहरूको आरम्भ भर्खर भएकाले उनीहरूको सिद्धान्त र मान्यता स्थापित नभइसकेको भनाइ कांग्रेसको छ।
प्रतिक्रिया दिनुहोस्