काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा मंगलबार आयोजना गरेकोे पत्रकार सम्मेलनमा उनले कोइराला परिवारका तीनओटै नेताबीचको एकताले पार्टीलाई संगठित बनाउन थप मद्दत पुग्ने बताए ।
कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामासमेत पार्टी संगठन विस्तारमा सहयोग पुग्ने उनले जिकिर गरे ।
सभापति देउवाले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गरे ।
उनले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै त्यसपछि कांग्रेसभित्र देखिएको विवाद हटेर जाने जिकिर गरे ।
सभापति देउवाले पार्टीलाई संगठित बनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको बताए ।
सभापति देउवाले कांग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने धारणा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्