कांग्रेसका नेता निधिले भने- संघीय सरकारले प्रदेशलाई अधिकार नै दिएन !

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बहुमत प्राप्त कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
मंगलबार धनगढीमा प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप लगाए ।
प्रदेश प्रहरी ऐन समयमा नबन्दा प्रदेश सरकारले प्रदेशका जनतालाई सुरक्षा दिन नसकेको उनको भनाइ थियो ।
उनले प्रदेश सरकारले पाउनु पर्ने अधिकार संघीय सरकारले आफैँसँग राखेको आरोप लगाए । अधिकार नपाउँदा प्रदेश सरकार नाममा मात्र सीमित भएको बताउँदै उनले प्रदेश प्रहरीदेखि विभिन्न अधिकार केन्द्रले नै रोकेर राखेको टिप्पणी गरे ।नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त उपलब्धी बहुमत प्राप्त कम्युनिष्ट सरकारबाट गुम्ने चिन्ता बढ्दै गएको उनले बताए ।
देशमा तीनै तहको निर्वाचन सम्पन्न भई सरकार बने पनि संघीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा स्थानीय तह र प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्ने बेला आएको उनको भनाइ थियो ।
फरक प्रसंगमा निधिले कांग्रेसभित्र रहेको समस्यालाई छिटै समाधान गरिने बताए । पार्टी्भित्रको गुट–उपगुटका कारण कांग्रेस कमजोर नहुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्