काठमाडौं, ३० कार्तिक । नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ पुगेका शर्माले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिनुभएको हो ।
नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा नेता शर्माले राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लालाई समृद्ध बनाउन ठूलो भूमिका निर्वाह गर्ने भएकाले सरकारले बजेट अभाव हुन नदिने र छिटो काम नसक्ने ठेकेदारलाई सरकारले कारवाही गर्न पछि हट्न नहुने तर्क अघि सार्नुभयो ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेकपा बागलुङका नेता तथा कार्यकर्ताहरुले लोकमार्गको बागलुङ–बिहुँखण्ड छिटो कालोपत्रे गर्नका लागि पहल गरिदिन नेता शर्मासँग आग्रह गरेका थिए । आग्रहपछि नेता शर्माले सरकारले बजेट अभाव हुन नदिने र छिटो काम सक्ल ठेकेदारलाई दवाव दिन र समयमा नै नसके आर्को ठेकेदारलाई ठेक्का दिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्