सीमामा उजाड बन्दै नेपाल, हराभरा हुँदै भारत

काठमाडौं, कात्तिक १८ । नेपाल–भारत सिमाना चाररातेबाट नेपालतर्फ हेर्दा रूखहरु मासिएको चिल्लो डाँडा देखिन्छ। फाट्टफुट्ट रूखबाहेक भुइँमा मसिना झार मात्र देखिन्छन् । भएका केही रूखहरू पनि केही वर्ष मात्र टिक्लान् जस्तो देखिन्छ । कहाँ हराए यहाँका हरिया रूख र बहुमूल्य जडीबुटी भनेर यहाँ आउनेले यस्तै प्रश्न गर्छन्। फेरि भारततर्फ हेरियो भने एकदम हरियाली देखिन्छ। झांगिएका रूखै रूखले भरिएका छन्।
जिल्लाको सीमा क्षेत्र उच्च पहाडी भेगमा पर्छ। जैविक विविधताको धनी मानिएको यो क्षेत्र दिनप्रतिदिन उजाड हुँदै गएको छ । यहाँ पाइने जडीबुटी तथा वन्यजन्तु हराउँदै गएका छन् । भारततर्फ हरियाली भएकाले वन्यजन्तु पनि त्यतैतिर सरेको अनुमान छ।
भारतले सीमा क्षेत्रमा पर्ने वनलाई संरक्षण गरेर राखेको छ। पश्चिम बंगाल र सिक्किम प्रान्तमा पर्ने यस क्षेत्रमा नेसनल पार्क बनाएको छ। यहाँ रूख काट्न त प्रतिबन्ध छ नै भौतिक पूर्वाधार बनाउनसमेत मनाही छ। सिमानामा भएका सडक र सुरक्षा निकायका भवनहरू बाहेक नयाँ निर्माण गर्न पाइँदैन। वन क्षेत्रमा जथाभाबी प्रवेश पनि निषेध गरिएको छ।
तर नेपालतर्फको भूभाग भने खुला छ। भारतीयहरू आएर सहजै नेपालका प्राकृतिक स्रोत साधनको उपभोग गर्छन्। भारतीय गाडीहरू निर्वाध गुड्छन्। नेपालको वन दिनप्रतिदिन उजाडिँदै गएको स्थानीय रामकुमार राई बताउँछन्। ‘नेपालतीर उजाड देखिँदै गएको छ। यति सुन्दर ठाँउको संरक्षण हुन सकिरहेको छैन,’ राई भन्छन्, ‘सीमा क्षेत्रमा सरकारी उपस्थिति छैन। घुम्न आउनेहरूको भीड लाग्छ। व्यवस्थित गर्ने निकाय छैन।’
भारततर्फ सिंहलीला नेसनल पार्क र कञ्चनजंघा नेसनल पार्क बनाएर वनको संरक्षण गरिएको छ। भारतले निकै मेहेनत गरेर जैविक विविधताको संरक्षण गरिरहेको छ। तर नेपालतर्फको वन भने मासिँदै गएको छ । भएका जडीबुटी लगायतका वनस्पती पनि सहजै भारतीय बजारमा पुगिरहेका छन्।
नेपाली क्षेत्रको जैविक विविधता जोगाउन सरकारी तहबाट कुनै पहल नभएको वन संरक्षणमा क्रियाशील गैरसरकारी संस्था दीपज्योति युवा क्लबका निर्देशक सुनिल बान्तवा बताउँछन्। उनका अनुसार भारतीय क्षेत्रको वनमा पस्न, रूख काट्न, सिकार खेल्न पाइँदैन । तर नेपालको वन क्षेत्रमा भने भारतीयहरूले यस्ता गतिविधि सहजै गर्न पाउँछन् । यहाँका सतुवा, बिख, बिख्मा, पाखनवेद, पाँचआंैले, टुड्की, टिमुर, जट्टामसी, लोठेसल्ला, वन लसुन, केन्जो, चिम्फिङजस्ता जडीबुटी जोखिममा पर्न थालेका छन् । रेडपाण्डा लगायतका वन्यजन्तुको चोरीसिकार हुन्छ । नेपाल तर्फका सुरक्षा पोस्ट सीमा क्षेत्रदेखि निकै टाढा छन् । प्रहरी र स्रोत साधनको अभाव छ । सीमा क्षेत्रको अनुगमन हुँदैन । विशेष अवस्थामा मात्र सुरक्षाकर्मी सीमा क्षेत्र पुग्छन्।
सन्दकपुरदेखि तिम्बु पोखरीसम्म यस्तै अवस्था छ। संरक्षणमा जिल्ला वन कार्यालयलको ध्यान पुगेको छैन । सुरक्षा पोस्टहरू छैनन् । उता भारततर्फ भने प्रत्येक ६ किलोमिटरमा सुरक्षा पोस्ट छन् । भारततर्फ नयाँ घर बनाउन पाइँदैन । यता आएका पर्यटकहरू नेपालका डाँडाहहरूमा टेन्ट टाँगेर बस्ने गरेका छन् । भारततर्फ भने वन क्षेत्र बढेको बढ्यै छ । नेपालतर्फ भने घटेको घट्यै छ।
केही वर्षअघि भारतीय आएर रेडपाण्डा पक्रेर लैजाँदै गर्दा स्थानीयले लखेटेका घटनासमेत सार्वजनिक भएको थियो । पाँचथर जिल्ला प्रहरी कार्यालयले तीन चरण गरेर सीमा क्षेत्र अवलोकन गर्दा गत जेठमा १६ सीमा स्तम्भ हराएको पाइएको थियो । एक सय १३ वटामध्ये ९७ वटा सीमा स्तम्भ मात्र भेटिएको थियो । हराएका १६ सीमा स्तम्भमध्ये चार वटाका मात्र डोब भेटिएको बाँकी १२ वटाको नामनिसान नपाइएको बताइएको थियो ।
सीमा क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भनिए पनि सीमाभन्दा टढा राख्न खोजिएको बुझिएको छ । सीमा क्षेत्रका दुई ठाउँमा सुरक्षा पोस्ट राख्न सरकारलाई अनुरोध गरिरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । चिवाभञ्याङमा सर्वपक्षीय टोली गएर अवलोकन गरिएको पनि उनले बताए।यो खबर आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्