काठमाडौं ,असोज २४ । यस वर्षको बडा दसैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिँदै छ ।
पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ ।
यस दिन विहानै आत्मशुद्धी गरी नदी, खोला, बगर तथा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकैलगायतका अनाज छर्ने गरिन्छ ।
माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नका लागि जमरा उमार्ने गरिएको धार्मिक मान्यता छ ।
यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ छर्ने गरिन्छ ।
त्यसपछि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । यसै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनजस्तै भगवती दुर्गा पूजा, आराधना र प्रार्थना गरिन्छ ।
दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ । आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ । उपत्यका लगायत देशैभरका देवी मन्दिरहरुमा विहानैदेखि दर्शन गर्न जानेको घुईंचो लागेको छ ।
आज विधिपूर्वक घर घरमा आह्वान गरी गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिन्छ ।
कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने कात्तिक २ गते ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ ।
उपत्यकाबाट १० लाख बाहिरिए
दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ । महानगरीय टाफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मङ्गलबारसम्म करीव १० लाख जना उपत्यका वाहिरिएका छन् । सोमवारबाट दैनिक एक लाखको हाराहारिमा सर्वसाधारण काठमाडौंबाट वाहिरिन थालेका छन् ।
‘त्यसअघि दैनिक ३०– ४० हजार बाहिरिन्थे तर सोमबारबाटै यो चाप बढ्यो,’ महाशाखा प्रमुख पन्तले भने । असोज २४ गते घटस्थापनासँंगै उपत्यकाका अधिकांस स्कुल कलेज बन्द भएसंँगै यो संख्या बढ्दै जाने अनुमान उहाँको छ ।
काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुड्गाबाट दैनिक २० हजारभन्दा बढी सवारी साधनले दैनिक आवत जावत गरिरहेका छन् । यो नाकाबाट वाहिरिने कुनै पनि गाडी रित्तो नभएको प्रहरीको भनाइ छ ।
सबैले यात्रु बोकेर वाहिरिने गरेका छन् महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले भने,‘ प्रत्येक सवारी साधनमा यात्रु भरिपूर्ण देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्