‘शेरबहादुर देउवा र प्रचण्ड दुवै भारतसामू लम्पसार परेका छन्,: बरिष्ठ नेता माधव कुमार

महोत्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतसामू लम्पसार परेको आरोप लगाएका छन् ।

आईतबार महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘शेरबहादुर देउवा र प्रचण्ड दुवै भारतसामू लम्पसार परेका छन्, यो कुरा सवै नेपाली जनताहरुलाई राम्रोसँग थाहा छ ।’

नेता नेपालले आफ्नो पार्टी संघीयता पक्षधर भएको बताउँदै भने, ‘हामी संघीयता पक्षधर हौं, हाम्रो पार्टी कुनैपनि हालतमा मधेश विरोधी होईन, हेर्दै जानुहोला २ नम्बर प्रदेशमा पनि एमाले एक नम्बर पार्टीे बन्छ ।’

नेता नेपालले मधेशमा एमालेलाई निषेध गर्न अहिलेसम्म केहीपनि शक्ति नजन्मेको समेत दाबी गरे । उनले भने, ‘कुनै शक्तिले वा तागतले पनि मधेशमा एमालेलाई निषेध गर्न सक्दैन, र जन्मिएको छैन । म नै हुँ मधेशका असली धर्तीपुत्र, मधेशको विकास र समृद्धिको लागि एमालेले जति अरु कुनै पार्टीले काम गरेको भए हामीलाई देखाईदिए हुन्छ ।’

उनले २ नम्बर प्रदेशको चुनाव पनि एमाले नै जित्ने र जितेपछि प्रदेशमा पनि एमाले नै सरकार बनाउने समेत उल्लेख गर्दै भने, ‘२ नम्बर प्रदेशको चुनावमा पनि एमालेले बाजी मार्छ, एमाले पहिलो पार्टी बन्छ, बन्छ, बन्छ, यसमा कुनै दुईमत छैन ।’ नेता नेपालले केही मधेशी नेताहरुले विदेशीको दवावमा परेर संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्