काठमाडौं, असोज १४। नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको छ ।
हलचलले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई समेत छोएको छ। ‘कतिपय नेताले बोलेको सुनियो, लौ न देश डुब्नै लाग्यो, कोही त आऊ बचाऊ भनेर,’ पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा ओलीले नेपालको अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन्, ‘म नहुनेबित्तिकै कसैलाई अलिकति शून्यता भयो, छटपटी भयो। म फर्केर गइहाल्छु, सबै ठीक भइहाल्छ।’
नेपालले सात महिना बित्दा पनि सरकारको प्रभावकारिता नदेखिएको र पार्टी एकलौटी चलाएको विषयलाई लिएर ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न…’ भन्ने गीत बिहीबार संसद्मा गाएका थिए। सतहमा उनको अभिव्यक्ति सरकार र पार्टी सञ्चालनमा ओलीको कार्यशैलीप्रति लक्षित छ। नेकपाकै कतिपय नेताले भने उनको अभिव्यक्तिलाई सरकार असफल बनाउने योजनाका रूपमा लिएका छन्।
गृहमन्त्री रामबहादुर थापाले शनिबार तम्घासमा यस्तै संकेत गर्दै भने, ‘सरकारलाई घेराबन्दी गर्ने र गिराउनेसम्मको षड्यन्त्र भइरहेको छ।’ संसद्मा नेपालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता नलागेको र रौतहटलगायत ठाउँमा किशोरीमाथि एसिड प्रहार भएको घटना उप्काउँदै गृहमन्त्री खोइ भन्ने प्रश्न गरेका थिए।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नेपालको असन्तुष्टिलाई सरकार ढाल्ने ‘षड्यन्त्र’ मान्न नहुने बताए। ‘आलोचना सरकारलाई सफल बनाउनकै लागि गर्ने हो,’ उनले भने, ‘विकल्प खोज्ने कुरा अहिले कल्पना गर्न सकिन्न। सरकारको आलोचनालाई लिएर अरू कुरा सोच्न पनि मिल्दैन।’ यो खबर आजको कान्तिपुर दैनिकमा मुख्य खबर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्