श्रीमतीको उपचारका गराउन प्रचण्ड सिंगापुरमा

कठमाडौं, असोज ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि बुधबार बेलुका सिङ्गापुर प्रस्थान गरेका छन् ।
यसअघि सीताको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
सीता मधुमेह, उच्च रक्तचापबाट पीडित छन् । साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ गएका छन् ।
नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो । केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गएको असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो ।
माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्