काठमाडौं , असोज ९ । अर्थमन्त्री डा. युवराज खतिवडाले दुई देशबीचको आपसी सहमतिबाट मात्र भन्सार नाकामा अध्यागमन संचालन गर्न सकिने बताएका छन् ।
उनले लुम्बिनी र तिलौराकोट विकासलाई सँगसँगै लैजाने सरकारले निती अनुरुप प्राथमिकता दिएको बताए ।
नेपाल सरकारले चाहेरमात्र अध्यागमन विभाग सञ्चालन गर्न नसकिने बताउँदै उनले दुईदेशीय सहमतीमा मात्र संचालन हुन सक्ने प्रष्ट पारे ।
कपिलवस्तुको छोटी भन्सारको रुपमा रहेको सुठौली भन्सार स्तरोन्नोतिपछि आयोजित उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले राजमार्गदेखि पहाडी भूभाग र सिमा नाका जोड्ने गरी सडक सञ्जाल विस्तार गर्ने योजना शुरु भइसकेको बताए ।
कपिलवस्तु गरिबीको सूचाकंमा कमजोर रहेकाले सरकारले विशेष प्राथमिकता दिएको उनले बताए ।
मन्त्री खतिवडाले हुलाकी सडक निर्माण सम्पन्न गर्न आर्थिक समस्या नपर्ने बताए ।
गतवर्षको योजना र कार्यक्रममा बुद्धिष्ट सर्किट नवलपरासी, रुपन्देही र कपिलवस्तु जोड्ने गरी रामग्राम देवदह लुम्बिनी र तिलौराकोटको अवधारणामा सरकारले काम गरिसकेको उनले बताए ।
देशभरका १ सय ४३ छोटी भन्सारमध्ये ५ वटा मुल भन्सार कार्यालयको रुपमा सरकारले स्तरोन्नति गरेको जनाइएको छ । ५ मध्ये ३ वटा भन्सार कार्यालयको उद्घाटन भइसकेको भन्दै आवश्यक पूर्वाधार विकासमा जोड दिने भन्सार विभागका महानिर्देशक तोयम रायले बताए ।
प्रतिक्रिया दिनुहोस्