प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पोखरेललाई

काठमाडौं, असोज ७ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो राति अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाई गरे ।
प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्री उपेन्द्र यादव, मन्त्रीगण, नेकपाका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा अंगका प्रमुखलगायत विमानस्थल पुगेका थिए ।
सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । संयुक्त राष्ट्र संघको महासभालाई प्रधानमन्त्री ओलीले आगामी बिहीबार सम्बोधन गर्नेछन् । ७३ औं महासभा आगामी मंगलबारदेखि आरम्भ हुँदैछ ।
महासभाले यस वर्षका लागि ‘संयुक्त राष्ट्र संघलाई सबै जनतासँग सम्बन्धित, शान्ति र न्यायपूर्ण एवं दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी (संस्था) बनाउने’ नारा तय गरेको छ । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न देशका सरकार प्रमुखहरुसँग पनि भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री ओली असोज १३ गते न्यूयोर्कबाट कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सानहोजेतर्फ प्रस्थान गर्नेछन् । कोस्टारिकाको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली यही असोज १८ गते स्वदेश फर्कनेछन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छन् ।
प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्