मन्त्री पण्डितले भने – जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ

काठमाडौं ,६ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताएका छन् ।
आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
स्थानीय सरकारले करको दायरा घटाउनुपर्ने बताउँदै उनले नेपाललाई सफा र सुन्दर बनाउने कार्यमा अवरोध पु¥याउँदै प्रदूषण तथा फोहर गर्नेलाई जतिसक्दो बढी कर लगाउनुपर्ने विचार व्यक्त गरे ।
नेपाल सुन्दर, स्वस्थ र हराभरा बनाउनुपर्छ, भन्ने सन्देश विश्वमा फैलाउनुपर्ने औल्याउँदै उनले हरेक दृष्टिकोणबाट नेपाल बस्नका लागि उपयुक्त छ, भन्ने सन्देश प्रवाह गर्न व्यवहार मै देशलाई स्वच्छ बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले देशमा सरकारलाई फुटाउने र फेरि अस्थिरता ल्याउन विदेशी तत्व सक्रिय भएको उल्लेख गरे ।
उनले पत्रकारले जथाभावी लेख्न पाउनुपर्छ, डाक्टरले जथाभावी उपचार गर्न पाउनुपर्छ, चालकले जथाभावी मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने गरेका छन् भन्दै उनले सरकारलाई कमजोर बनाउने खेल भइरहेको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस्