४५ जिल्लाका १ सय २८ क्षेत्रमा मतदान चल्दै , मतदाताको उत्साहजनक सहभागिता

काठमाडौं । ४५ जिल्लामा प्रतिन र प्रदेशसभा चुनावको मतदान सुरु भएको छ । दोस्रो चरणमा विहिवार विहान ७ बजेदेखि १ सय २८ निर्वाचन क्षेत्रमा मतदान सुरु भएको हो ।
मतदान केन्द्रमा मतदानको प्रकृया सुरु भएको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिए । उनले सबै मतदातालाई सहभागी हुन आग्रह समेत गरेका छन ।
निर्वाचन आयोगले मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । मतदानको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएकाले आफ्नो परिचय खुल्ने सरकारी कागजात देखाएर पनि भोट खसाल्न पाउनेछन् ।
४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा चुनाव हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि १ हजार ६ सय ६३ र प्रदेशसभाका लागि २ हजार ८ सय १९ गरी कुल ४ हजार ४ सय ८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।यसैगरी, समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि २ सय २० पदमा ५ हजार ८ सय ३८ उम्मेदवार छन् । सात हजार ७ सय ५२ मतदानस्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् ।
मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्दछ । त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ ।रातो मतपत्रको माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत स्वस्तिक छाप लगाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्