चुनावपछि देशमा समाजवाद उन्मुख अर्थतन्त्रः राष्ट्रपति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न सबैलाई आह्वान गरेकी छन् ।

उत्साह, उमंग तथा उल्लासमय रुपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउन उनले आह्वान गरेकी हुन् । बिहीबार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यो चुनावपछि देश समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।

पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्मरण गर्दै राष्ट्रपतिले भनेकी छन्, ‘निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधानबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नेछ भन्ने मलाई विश्वास लागेको छ ।’

सन्देशमा थप लेखिएको छ, ‘निर्वाचनमा सहभागी हुनु केबल संविधानले दिएको जनप्रतिनिधि छान्ने हक र जनतामा निहित सार्वभौम अधिकारको प्रयोग मात्र नभइ आर्थिक सामाजिक रुपले समृद्ध नेपाल निर्माणको दिशामा ठोस योगदान गर्नुसमेत हो ।’

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्