धसिएको विमान निकाल्न किन लाग्यो १२ घन्टा ?

काठमाडाैं । कैलाश मानसरोबर घुमेर फर्केका २१ जना भारतीय तीर्थयात्रुहरू बोकेर नेपालगन्जबाट आइपुगेको यती एयरको जेटस्ट्रिम विमान काठमाडौं विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाहिर चिप्लिएर ‘दुर्घटना’ हुँदा शनिबार बेलुकीदेखि आइतबार बिहानसम्म १२ घण्टा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको हवाई सम्पर्क टुट्यो ।

धावनमार्गबाट करिब १० मिटर पर पुगेर धस्सिएको ७ टन हाराहारी तौलको खाली विमान निकाल्न १२ घण्टा लाग्नु लाजमर्दो विषय भएको खबर आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्। काठमाडौं विमानस्थलमा शनिबार बेलुकी साढे ८ बजे भएको रन–वे एस्कर्सन (धावनमार्गबाट चिप्लिने) घटना पहिलो होइन । यसअघि ०७१ फागुनमा टर्किको राजधानी इस्तानबुलबाट २ सय २४ यात्रु बोकेर आएको वायुयान एयरबस ३३० धावनमार्ग छेवैमा चिप्लिएर दुर्घटना हुँदा चार दिनसम्म विमानस्थल ठप्प भयो ।

विमानको पखेटाले धावनमार्ग अवरोध गरेका कारण एकमात्र धावनमार्ग भएको मुलुकका लागि यो ठूलो विपत् थियो । उपकरण, दक्षता, ज्ञान, सीप र चुस्त व्यवस्थापनको अभावका कारण चार दिनसम्म हजारौं यात्रु बिचल्लीमा परे । यो घटनाबाट भएको क्षतिको आर्थिक मूल्यांकन कुनै निकायबाट भएन । नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल, ग्राउन्ड हयान्डिलिङ गर्ने नेपाल वायुसेवा निगम, सैनिक हवाई निर्देशनालय आदिका लागि यो ठूलो पाठ थियो ।

वैशाखमा मलेसियाको राजधानी क्वालालमपुरका लागि उड्न लागेको मालिन्दो एयरको विमान घाँसे मैदानबाहिर पसेपछि फेरि उड्डयनसँग सरोकार राख्ने निकायको अक्षमता प्रकट भयो । उक्त वायुयान टेकअफलगत्तै तीन किलोमिटर लामो धावनमार्गबाट करिब ४० मिटर पर पुगेर घाँसेमैदानमा धसियो । १ सय ३९ जना यात्रु बोकेको यो विमानलाई निकाल्न १३ घण्टा बिताउँदा कम्तीमा एक दर्जन अन्तर्राष्ट्रिय उडान अवरुद्ध र अन्यन्त्रै डाइभर्ट भए । चार महिनापछि शनिबार यस्तै खाले घटनामा यतीको विमान पर्‍यो । यो विमान निकाल्न १२ घन्टा समय बित्यो ।

नेपाल पस्दै गरेका ६ वटा अन्तर्राष्ट्रिय वायुयान भारत र बंगलादेशतर्फ डाइभर्ट भए । काठमाडौंबाट उड्न लागेका ५ वटा ठूला विमान यतै रोकिए । ‘यो घटनामा पनि हामीसँग जहाज तान्ने एउटा सानो टुचनसम्म भएन,’ प्राधिकरणका एक अधिकारीले भने, ‘यो हाम्रो ठूलो कमजोरी हो ।’ उनले पश्चत्ताप गर्दै भने, ‘हामीले उपकरण जुटाउन नसके पनि चुस्त संयोजन गरेर चाँडोभन्दा चाँडो विमानस्थल सञ्चालन गर्न सक्थ्यौं । तर, यस्ता घटनामा हामी मुढेबल मात्रै देखाउँछौं । जसका कारण हामी विश्वभर आलोचित हुनुपर्छ।’ खासमा यस्तो विपत् व्यवस्थापन गर्ने कार्य ग्राउन्ड हयान्डिलिङको जिम्मा लिएको नेपाल एयरलाइन्सलगायतका उड्डयनसँग सँलग्न संस्थाहरूको हुनुपर्ने हो।

शनिबार यतीको विमान निकाल्न स्काभेटरको खोजी गरियो, राति सशस्त्र प्रहरी प्रमुखलाई ‘गुहारेर’ ४० जना जवान ल्याइयो । ‘सेना पनि थियो, हाम्रो प्रहरीको विपत् व्यवस्थापनको टोली पनि थियो फेरि सशस्त्र पनि थपियो,’ विमानस्थलका एक सुरक्षा अधिकारीले भने, ‘तर राति बल लगाएर जहाज निकाल्न सकिने रहेनछ, बिहान थाहा पाइयो ।’ ती अधिकारीका अनुसार, बिहान स्काभेटरले जमिन खनियो। प्लाइउड ओच्छयाएर जहाजका पाङ्ग्रा त्यसमाथि राखेर टयाक्टरको सहयोगमा तानियो ।

प्रतिक्रिया दिनुहोस्