एसियन लाइफ इन्सुरेन्सको नाफा उल्लेख्य बढ्यो, अन्य सूचक पनि सकारात्मक

काठमाडौ, ३० कात्तिक । एसियन लाइफ इन्सुरेन्सले चालु आ.व. को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४२.०७ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी बढेपछि नाफामा सुधार आएको छ । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी १२.२३ प्रतिशतले बढेर २ अर्ब १ करोड रुपैयाँ पुगेको छ । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने २.४२ प्रतिशतले घटेर ८५ करोडमा झरेको छ । यसको जीवन बिमा कोषमा ४४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।
हाल इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले निकट भविष्यमा ४२ प्रतिशत हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको छ । कम्पनीको रिटेन्ड अर्निङमा ४५ करोड ९२ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी पनि बढेर १५.६४ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ भने १२३.११ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्