नेकपाको स्थायी कमिटी बैठक फेरि सर्यो, अब कहिले त ?
काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ । पार्टीको संगठनात्मक काम र सरकारको समीक्षा लगायतका विषयमा छलफल गर्न बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपां) को स्थायी कमिटी बैठक फेरि सरेको हो ।
नेकपाले पार्टीका तल्ला कमिटी तथा जनसंगठनको एकीकरणका काम टुंगो लगाउन भदौ ८ र ९ मा स्थायी समिति बैठक बोलाएको थियो । तर केही जनसंगठन र प्रदेश कार्यादलले प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाइ नसकेको, बुझाएका प्रतिवेदन पनि विवादरहित नभएपछि बैठक १९ र २० गतेका लागि सारिएको थियो ।
तर, बैठक सार्दा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई कारण देखाइएको थियो ।
शीर्ष नेताहरुको विदेश भ्रमणका कारण पछिल्लो पटक वैठक सारिएको छ ।
नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार बैठक अव भदौ २६ र २७ मा बस्ने छ । हाल वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका र ईश्वर पोखरेल लेवनानमा छन् । उनीहरु नौ सदस्यीय पार्टी सचिवालयका सदस्य पनि हुन् । नेपाल भदौ २० र पोखरेल लेवनान–पोल्यान्ड हँुदै भदौ २३ मा स्वदेश फर्कने कार्यक्रम छ ।
एमाले र माओवादीबीच जेठ ३ गते एकता हुँदा तीन महिनाभित्र सम्पूर्ण एकता प्रक्रिया टुंगाउने सहमति बनेको थियो । तर, पार्टी एकतापछि सचिवालय, स्थायी समिति र केन्द्रीय समिति चयन मात्र चयन भएको छ ।
प्रतिक्रिया दिनुहोस्