नेकपा नेता विदेशमै व्यस्त, पार्टी काम प्रभावित

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टी काम प्रभावित हुन थालेका छन्। पार्टी अध्यक्षदेखि सचिवालयका नेता विदेश यात्रामा रहँदा जनसंगठन तथा पार्टीका तल्लो कमिटी (प्रदेश तथा जिल्ला कमिटी) को एकीकरण प्रक्रिया प्रभावित भएको छ।

९ सदस्यीय सचिवालयमा अहिले दुईजना विदेशमा छन् भने दुई नेता विदेश जाने तयारीमा छन्। वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका र ईश्वर पोखरेल लेवनानमा छन्। भारत सरकारको निमन्त्रणमा अध्यक्ष पुष्पकमल दाहाल २२ भदौमा भारतको ५ दिने भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपाको एउटा टोली चीन जाँदैछ।

श्रेष्ठ नेतृत्व टोलीको भ्रमणलाई सचिवालय बैठकले अनुमोदन पनि गरिसकेको छ। श्रेष्ठ चीनमै रहेका बेला अध्यक्ष दाहाल असोज १ मा चीन भ्रमणमा जाने कार्यक्रम छ। शीर्ष नेताहरू विदेशमा रहेपछि १९ र २० भदौका लागि बोलाइएको स्थायी समिति बैठक प्रभावित हुने देखिन्छ । वरिष्ठ नेता नेपाल भदौ २० र पोखरेल लेवनान–पोल्यान्ड हुँदै भदौ २३ मा स्वदेश फर्कनेछन्।

अमेरिकाको सिकागोमा आयोजित नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल १४ भदौमा त्यसतर्फ गएका थिए। पोखरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गतको लेबनानस्थित नेपाली शान्ति मिसन अवलोकनका गएका हुन्। एकता प्रक्रियाको महत्वपूर्ण निर्णय वरिष्ठ नेता नेपालको अनुपस्थितिमा दुईअध्यक्ष केपी ओली र पुष्पकमल दाहालले मात्र लिन सक्ने अवस्था अहिले छैन।

यसअघि नेकपाले पार्टीका तल्ला कमिटी तथा जनसंगठनको एकीकरणका काम टुंगो लगाउन भदौ ८ र ९ मा स्थायी समिति बैठक बोलाएको थियो । तर केही जनसंगठन र प्रदेश कार्यादलले प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाइ नसकेको, बुझाएका प्रतिवेदन पनि विवादरहित नभएपछि बैठक १९ र २० गतेका लागि सारिएको थियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्