मुख्य अपराधमा प्रहरी नै विवादमा !, के छ कारण ?

काठमाडौं । अपराध नियन्त्रण र अनुसन्धानमा मुख्य जिम्मेवार प्रहरी पछिल्ला प्रमुख घटनाहरुमा आफैं विवादमा तानिएको छ ।

निसान खड्का अपहरण, डा.गोविन्द केसीको जुम्ला अनसन र कञ्चनपुरमा किशोरी हत्या घटना यसैका उदाहरण हुन ।

भक्तपुरका बालक निसान खडकाको अपहरणमा संलग्न भनिएका दुई युवाको ‘फेक इन्काउन्टर’ विवादमा महानगरीय प्रहरी अपराध महाशाखा तानियो ।

गृहमन्त्री रामबहादुर थापाले नै इन्काउन्टर नै भएको दाबी गरेपछि यसबारेमा उठेका प्रश्नको उत्तर दिने दायित्वबाट प्रहरी पन्छियो ।

मृत्यु भएका दुई युवा गोपाल तामाङ र अजय तामाङका परिवारले उजुरी दिएको २० दिन कटिसकेपनि अनुसन्धान टुंगिएको छैन ।

घटनास्थल नगदेश क्षेत्रका स्थानीय बासिन्दाले दुई युवालाई प्रहरीले उठाएर लगेको बताए पनि त्यसबारे जवाफदेही बन्नुपर्ने प्रहरीले ठानेन ।

बरु उल्टै प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले अन्तर्वार्तामा इन्काउन्टरको बचाउ गरिरहे ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार तालुकदार गृह मन्त्रालयले नै अनुसन्धान गर्नुनपर्ने ठहर गरेपछि यो घटना सार्वजनिक बहसमै मात्र सीमित रह्यो।

सार्वजनिक रूपमा जवाफदेही बन्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने प्रहरी यसरी विवादमा तानिएको यो पहिलो घटना भने थिएन।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई साउन ३ मा काठमाडौं ल्याउने क्रममा पनि प्रहरीको भूमिका विवादित भयो ।

जिल्लास्थित प्रहरी प्रमुख डीएसपी तपनकुमार दाहालले माइकिङ गर्दै प्रहरी जवानको मृत्यु भएको झूटो सूचना फैलाएका थिए ।

लगत्तै प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै ‘सञ्चारमाध्यमहरूले समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण गरेको’ भन्दै सूचनाको आधिकारिक पुष्टि गर्न अपिल गरेको थियो । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्