अब सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने, केन्द्रमा कृषि यान्त्रीकरण इकाई राख्न माग

काठमाडौं । अब सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत सातै प्रदेशमा निर्देशनालय खोल्ने र प्रत्येक प्रदेशमा हावापानी, वातावरण र माटो सुहाउँदो फरक–फरक अनुसन्धान गरिने भएको हो ।

नार्कको कार्य प्रणालीलाईसमेत परिवर्तन गर्दै संगठनात्मक पुनर्संरचना गर्न लागिएको छ । अहिले तत्कालीन ५ विकास क्षेत्रमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र छन् ।

संघीयता लागु भइसकेको अवस्थामा नार्क र यस अन्तर्गतका अनुसन्धान केन्द्रहरुको सांगठनिक संरचना र यसले लिने अबको बाटो कस्तो हुने भन्ने टुंगो लगाउन मन्त्रीस्तरीय कार्यदल गठन गरेर जिम्मा दिइने भएको छ ।

कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल, राज्यमन्त्री रामकुमारी चौधरी, गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापा, नार्कका पदाधिकारी र त्यसअन्तर्गतका देशैभरिका वैज्ञानिक कास्की लुम्लेमा भेला भएर नार्कको पुनर्संरचनाबारे छलफल गरेर फर्किएका छन् ।
छलफलले ‘नार्कलाई किसानसँग जोड्ने गरी लैजाने र प्रत्येक प्रदेशमा निर्देशनालय खोल्ने तथा अन्य तहको सांगठनिक संरचना कस्तो बनाउने भन्नेबारे मन्त्रीस्तरीय कार्यदल गठन गरेर टुंगो लगाउने,’ निष्कर्ष निकालेको छ ।

वैज्ञानिकहरुका छलफलबाट मन्त्रालय समक्ष संगठनात्मक तथा कार्यप्रणाली र अनुसन्धानबारे नार्कको संरचना प्रस्ताव गरिएको छ । वैज्ञानिकहरुले प्रस्ताव गरेको प्रतिवेदन मन्त्रीस्तरीय कार्यदलले अन्ययन गरी हेरफेर गर्नसक्ने कृषिमन्त्री खनालले बताए ।

‘ऐन पुनर्लेखन तथा व्यवस्थापन गर्न, नार्कका अनुसन्धान केन्द्रहरुको अध्ययन गरी वैज्ञानिकहरुको प्रस्तावसमेत अध्ययन गरी टुंगो लगाउने काम मन्त्रीस्तरीय कार्यदलले गर्छ,’ कृषिमन्त्री खनालले भने, ‘अब नार्कलाई सीधा किसानसँग जोड्ने गरी पुनर्संरचना हुन्छ ।’

हालका क्षेत्रीय कृषि अनुसन्धान केन्द्रलाई निर्देशनालयको रुपमा विकास गरिने छ । प्रदेश ३ मा नार्कको मुख्यालय नै भएकाले यहाँ निर्देशनालय रहने छैन । प्रदेश १ मा सुनसरी, २ मा बाराको परवानीपुर, गण्डकी प्रदेशमा कास्कीको लुम्ले र प्रदेश ५ मा बाँकेको खजुरामा क्षेत्रीय अनुसन्धान केन्द्र निर्देशनालय बनाउने प्रस्ताव गरिएको छ ।

कर्णाली प्रदेशमा सुर्खेत कृषि केन्द्रलाई स्तरोन्नति गरी निर्देशनालयको रुपमा विकास गर्ने र प्रदेश ७ मा अहिलेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र डोटीलाई अनुसन्धान केन्द्र बनाइ कैलालीको मुसरियामा नयाँ कृषि अनुसनधान निर्देशनालय खोल्न प्रस्ताव गरिएको छ ।

प्रदेश ५ र ७ मा वैज्ञानिकको टोलीले थप २ वटा नयाँ अनुसन्धान केन्द्र आवश्यक देखेका छन् । प्रदेश ५ मा उच्च पहाडी क्षेत्रका लागि मल्टीकमोडिटी अनुसन्धान केन्द्र स्थापना गर्ने र प्रदेश ७ मा विभाग अन्तर्गत रहेको बुढीतोला बाख्रा फार्मलाई पशु अनुसन्धान केन्द्रको रुपमा विकास गर्न प्रस्ताव गरिएको छ । सातै प्रदेशका अनुसन्धान केन्द्रमा कृषि यान्त्रीकरण इकाई राख्न माग भएको छ ।

प्रतिक्रिया दिनुहोस्