सरकारले गरेका गलत कामको सशक्त प्रतिवाद गर्न कांग्रेसको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत कामको सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रमुखहरुको आज राजधानीमा भएको प्रशिक्षण भेलामा कांग्रेस नेतृत्वले सरकारले जनचाहना विपरित काम गरेको भन्दै गलत कामको सशक्त प्रतिवाद गर्न निर्देशन दिएको हो ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरिब नागरिकको ढाँड सेक्ने गरी कर वृद्धि गरेको भन्दै सरकारको आलोचना गरे ।

उनले संघ, प्रदेश र स्थानीय सरकारले गरेको कर वृद्धि तत्काल फिर्ता लिन माग गरे ।

वरिष्ठ नेता पौडेलले कम्युनिस्ट नेतृत्वको सरकारले जनतालाई कुनै पनि विषयमा राहत दिन नसकेको आरोप लगाए ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसले जनचाहनाअनुसारका मुद्धालाई संसद्मा सशक्त ढंगले उठाउनुपर्ने बताए ।

सरकार जनताको नजरमा कमजोर भई सकेकाले अब कांग्रेसले जनचाहना अनुसारको काम गर्नुपर्ने उनको भनाई थियो ।

नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले मुलुकको आर्थिक अवस्था धरासायी भएको टिप्पणी गरे ।

सबै क्षेत्रमा कर वृद्धि गरिएकाले त्यसको प्रत्यक्ष असर उद्योगी, ब्यापारी र सर्वसाधरणमाथि गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्