‘एर्मासँग जुध्ने तयारी युद्धस्तरमा’

क्यारिबियन क्षेत्रमा ठूलो क्षति पुर्याएको शक्तिशाली आँधी एर्मासँग जुध्न हेइटी, क्युबा र टर्क्स एण्ड केकोस टापुका अधिकारीले द्रुत गतिमा प्रयास गरिरहेका छन्।
उक्त आँधीका कारण अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ र अधिकारीहरुले यो संख्या बढ्नसक्ने बताएका छन्।
आँधीसँगै बाढी र तीव्र वेगको हुरी आउने अपेक्षा गरिएको छ र हेइटीका अधिकारीहरु प्रभावित हुन सक्ने स्थानका प्रत्येक घरमा पुगेर सुरक्षित स्थानमा जान मानिसहरुलाई प्रोत्साहन गरिरहेका छन्।
उक्त आँधीले बारब्युडा, सेन्ट मार्टिन्स र अमेरिकी भर्जिन आइलण्डमा क्षति पुर्याएको छ ।
जोखिम
ब्रिटिश भर्जिन आइलण्डमा पनि हताहति भएको त्यहाँका गभर्नरले बताएका छन्। उनले संकटकालको घोषणा गर्दै मद्दत गर्न ब्रिटेनलाई भनेका छन्।


गरिबीमा चुर्लुम्म डुबेको हेइटी सबैभन्दा बढी जोखिममा रहेको छ किनभने सन् २०१० को विनाशकारी भूकम्पमा क्षति भएका उसका पूर्वाधार अझै बन्न सकेका छैन्।
केहि गहिरोमा अवस्थित टर्क्स एण्ड केकोसमा आँधीको जोखिम उच्च भएको ठानिएको छ र त्यहाँ ६ मिटर उचाइसम्म प्रभावित पार्ने विनाशकारी छाल आउनसक्ने चेतावनी दिइएको छ।
एर्मा क्याटेगोरी पाँच अर्थात सबैभन्दा शक्तिशाली तहको आँधी हो र यसको हुरीको वेग २९० किलोमिटर प्रतिघण्टा रहेको छ।
अहिलेसम्म आँधीका कारण क्यारिबियन क्षेत्रमा १४ जना मारिएको पुष्टि भएको छ।
रेडक्रसले १२ लाख मानिस प्रभावित भइसकेको र यो संख्या बढेर २ करोड ६० लाखसम्म पुग्नसक्ने जनाएको छ।
खानेपानी र स्वास्थ्य सेवा अवरुद्ध भएका ठाउँहरुमा रोगहरु फैलने चेतावनी दिइएको छ।
डोमिनिकन रिपब्लिकबाट अघि बढिरहेको एर्मा हेइटी पुग्न लाग्दैछ र त्यहाँबाट टर्क्स एण्ड केकोस हुँदै क्युबा पुग्नेछ।
चेतावनी
सप्ताहन्तमा अमेरिकी राज्य फ्लोरिडा पुग्ने उक्त आँधीले साँच्चै भीषण क्षति निम्त्याउने चेतावनी अमेरिकी आपतकालिन निकायले दिएको छ।


फ्लोरिडाबाट दशौँ हजार मानिसहरु आफ्ना घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्।
त्यहाँबाट पाँच लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ।
विमानबाट अन्यत्र जान लागेका मानिसको भीडका कारण मायामीको मुख्य विमानस्थल अस्तव्यस्त देखिएको थियो।
घर फर्कन सिट नपाएका कारण धेरै पर्यटक अलपत्र परेका छन् र उत्तरतर्फ जाने फ्लोरिडाको सडकमार्ग समेत भीडका कारण जाम भएको छ।
यसैबीच फ्लोरिडाको छिमेकी राज्य जोर्जियाका गभर्नरले पनि तटीय क्षेत्रका बासिन्दाको उद्धार गर्न आदेश दिएका छन्।
स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्